Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

तनहुँमा ७५४ जनामा डेंगु सङ्क्रमण पुष्टि


देशभर महामारी नै बनेर फैलिरहेको डेंगुबाट सबैभन्दा धेरै शुक्रबारसम्ममा तनहुँ जिल्लाका पाँच स्थानीय तहका ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र आँबुखैरेनीमा पाँच सय ५४ जनामा डेंगु पुष्टि भएको छ । जिल्लास्थित सरकारी अस्पताल र निजी क्लिनिकमा गरिएको परीक्षणअनुसार उनीहरूमा डेंगु पुष्टि भएको हो ।

डेंगु सङ्क्रमण बढेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित तनहुँ सेवा अस्पताल, आले मेडिकल हल, युआरएल ल्याब्रोटोरी, खैरेनीटार अस्पताल र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेंगु परीक्षण गरिएको छ ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबरहरु आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण भएको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् ।

यदि यस्तो लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा गइ चिकित्सकको सल्लाह बमोजिम तुरुन्तै उपचार गरौँनुपदर्छ । पूरा शरीर ढाकिनेगरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

गर्मी मौसममा जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकामा डेंगु सङ्क्रमित भएका थिए । जिल्लाभर करिब सात हजार सङ्क्रमित रहेकामा कूल सङ्क्रमितको ८० प्रतिशत व्यास नगरपालिकामा थिए । त्यस्तै चार जनाको डेंगु सङ्क्रमणबाट मृत्युसमेत भएको थियो ।

व्यास नगरपालिका स्रोतका अनुसार विगतका वर्षमा जस्तो समस्या खेप्न नपरोस् भनी समयमै घर वरपर जमेका पानीका खाल्डाखुल्डी पुर्ने, झाडी पन्छाउने र नाला सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिइएको छ । व्यास नगरपालिकाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिइएको जनाइएको छ ।

जिल्लाका १० मध्ये तीन स्थानीय तहमा डेंगुका बिरामी देखा परेका छन् । आँबुखैरेनी, शुक्लागण्डकी र व्यास नगरपालिकामा डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी बढ्दै गएपछि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको जनाइएको छ ।

जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक, विद्यार्थीलाई सचेत गराई लामखुट्टे रहनसक्ने ठाउँमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, झाडी फाँड्ने, टायर हटाउने, गमला व्यवस्थित गर्ने कार्य अगाडि बढाइएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार