Logo
२७ कार्तिक २०८२, बिहीबार
|  Thu Nov 13 2025

अख्तियारबारे बोले प्रचण्ड


पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने बित्तिकै ओहोदामा बसेका व्यक्ति निलम्बन हुने स्थिति ठिक छ कि छैन त्यस विषयमा समितिले व्यापक छलफल गर्नुपर्ने बताएका छन् । बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले अख्तियारले मुद्दा दायर गर्नेबित्तिकै निलम्बन हुने व्यवस्था ठिक छ कि छैन त्यसमा ध्यान दिनुपर्ने बताए ।

‘आयोगले मुद्दा दर्ता गराउने बित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन ? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने ? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ । विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस् । विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ’, उनले भने ।

यस्तै प्रचण्डले भ्रष्टाचार ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि व्यापक छलफलको आवश्यक रहेको बताएका छन् । २०५९ र अहिलेको राजनीतिक अवस्था फरक भइसकेकाले समयानुकूल ऐन संशोधन हुनुपर्ने बताए ।

भ्रष्टाचार ऐन संशोधन गर्न बनेको विधेयक धेरै संवेदनशील र महत्त्वपूर्ण भएकाले व्यापक छलफल र परामर्श गरेर यसबिचमा देखिएका जटिलता हटाउने गरी बन्नुपर्नेमा उनले जोड दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार