भारतसँग नजिकको सम्बन्ध भएको भनिएकी परराष्ट्र मन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । परराष्ट्र मन्त्री भएपछि राणाले पहिलोपटक नै भारत भ्रमण रोज्नुलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।
राणालाई २७ साउनमा नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिएका थिए । परराष्ट्र स्रोतका अनुसार राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ । उक्त अवसरमा राणाले भारतका विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने छिन् ।
मन्त्रालयले जयशंकरसँगको भेटवार्ताको लागि गृहकार्य थालिसकेको जनाइएको छ । मिस्रीले नेपाल भ्रमणमा रहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेटेका थिए ।
भारत भ्रमणकै बेलामा राणाले आफ्नो स्वास्थ्य उपचार पनि गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ । यसभन्दा अगाडी पनि राणाले पटक पटक आफ्नो स्वास्थ्य उपचार भारतमा नै गराउँदै आएकी थिइन् । यसपटक भ्रमणमै रहँदा उनले स्वास्थ्य उपचार पनि गराउँने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भने थाईल्याण्ड हुने जनाईएको छ । तर, थाईल्याण्डमा भर्खरै प्रधानमन्त्रीले राजीनामा दिनुपरेको छ । यस्तो अवस्थामा विमस्टेक सम्मेलन नै प्रभावित हुने चर्चा पनि चलिरहेको छ ।