राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको अभियान सञ्चालन गर्दै आइरहको नेपाल नागरिक अभियानले प्रमुख सल्लाहकारमा किशोरी महतोलाई मनोनयन गरेको छ । आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी महतोलाई प्रमुख सल्लाहकारमा मनोनयन गरेको नेपाल नागरिक अभियानले जनाएको छ ।
यसैगरी अभियानले फरक क्षमता भएका व्यक्तिहरुका तर्फबाट दृष्टिविहिन संगीतकार वसन्त राज उप्रेतीलाई राष्ट्रिय संयोजकमा मनोनयन गरेको छ भने लोकेश कँडेललाई केन्द्रीय सदस्य तथा उपत्यका धार्मिक समन्वय प्रमुखमा मनोनयन गरेको छ । यस्तै सचिवालय तथा उपत्यका नेवा समन्वयमा धर्मराज शाक्य, वृद्धा आश्रम समन्वयमा कृष्ण श्रेष्ठ, महिला विभाग सदस्यमा भगवती नेपाल, पश्चिम क्षेत्र सह संयोजकमा रेज उद्दिन मुसलमान, रुपन्देही जिल्ला अध्यक्षमा राम नारा धवल र केन्द्रीय सदस्यमा मोहन श्रेष्ठलाई मनोनयन गरेको छ । राष्ट्रबादी नेता शोभाराम थापा, इञ्जिनियर एस. तुलाधर लगायतको आतिथ्यतामा भएको कार्यक्रममा महिला संयोजक निरा रञ्जित सहितका अभियन्ताहरुले आफ्नो धारणा रखेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल नागरिक अभियानका राष्ट्रिय संयोजक डा.ठाकुरमोहन श्रेष्ठले राष्ट्रवादी अभियानमा स्वचालित र सञ्चालित व्यक्तिहरु छुट्याउनुपर्ने बताएका थिए भने प्रमुख सल्लाहकार किशोरी महतोले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।




