दुई छोरीलाई विष खुवाएर बेपत्ता भएको आशङ्का गरिएकी मोरङ सुन्दरहरैंचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ सुन्दरहरैँचा–७ स्थित केरा बगानभित्र १ वर्षकी छोरी आईका र ३ वर्षकी छोरी अर्पणाकी आमा अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्मितालाई प्रहरीले बुधबार बिहान झापा विर्तामोडबाट पक्राउ गरिएको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ । मोरङ प्रहरीका अनुसार उनको शारीरिक अवस्था कमजोर छ ।
अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ। आमा अस्मिताले गत शुक्रबार दुई छोरीलाई सँगै लिएर हिँडेकी थिइन् । तर, दुवै छोरीको शव शनिबार दिउँसो केरा बारीमा फेला परेको थियो । आमा भने भेटिएकी थिइनन् ।
अस्वास्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि भर्ना गरिएकाले घटनाका सम्बन्धमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।