नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने निश्चित भएको दिनमा अदालतले एमाले र माओवादीलाई दुई पार्टी बनाइदिएको बताएका छन्। आज कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्। उनले त्यसबेला आफूहरुसँग ७५ प्रतिशत पार्टी पकड रहेको उल्लेख गर्दै ओली नसुध्रिएकाले कारवाही गरेर आफूलाई संसदीय दलको नेता चयन गरिएको बताए।
‘ओलीको २५ प्रतिशतमात्रै थियो। ७५ प्रतिशत हामीसँगै थियो। ओली नसुध्रिएपछि पार्टीबाट निकालिएको हो। दुई तिहाइभन्दा बढी निकालिएको हो। पूर्व माओवादीमात्र भएर दुई तिहाइ भएको होइन। संसदबाट हटाइयो,’ उनले भने, ‘ओलीलाई निकालेपछि म प्रधानमन्त्री हुने पक्का भएको थियो। दलको नेता मलाई चयन गरेको थियो । म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतले दुई पार्टी आ–आफ्नै बाटो बनाइदियो।’
यस्तै प्रचण्डले केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको बताए। प्रचण्डले ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको सुनेको जिकिर गरे। अहिले परिवर्तन उल्ट्याउने षडयन्त्र भएको र आफूहरूले बलियो भएर रक्षा गर्नुपर्ने प्रचण्डले बताए। प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको उनले बताए।





