Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैनः बालेन


काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नयाँ मापदण्ड अनुसार बनेका काठमाडौँ महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन् । यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने उनको भनाइ छ ।

यो प्रकरणमा सङ्घीय सरकारले दोहोरो नीति लिएको भन्दै उनले आपत्ति पनि जनाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारलाई सोधेका छन्– ’आफै धामी, आफै झाँक्री । कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ? अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद्मा को छ ?त्यसै गरी मेयर शाहले न्याय खोज्ने हो भने काठमाडौँ महानगरलाई गाली गरेर न्याय नपाइने भन्दै नेताहरूलाई प्रश्न गर्न सुझाव दिएका छन् ।

मापदण्डबारे कानुन नै बनाएर निकास दिनुपर्नेमा उनले जोड दिएका छन् । मेयर शाहले फेसबुकमा थप लेखेका छन्ः

आफै बोक्सी , आफै धामी ।
१) कानुन बनाउने कसले हो ?
२) सरकारको नेतृत्व कसले गरेको हो ?
३) अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद को छ ?
खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।
तपाईंहरु न्याय खोज्नु हुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाइले न्याय पाउनु हुन्न । तपाइकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला ।
अन्त्यमा ,
तपाइँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाइँको लागि हामी छ्दै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सुचना जारी गरि हाल्नेछौ त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो ।

नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै आएको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेले माग गरेको छ ।

गत हप्ता मंगलबार बिहान बसेको महानगरको ३५ औं नगर कार्यपालिका बैठकमा उपमेयर सुनिता डंगोल मेयर बालेनसँग बेजोडले रिसाएकी थिइन् । उक्त बैठकमा उपप्रमुख डंगोलले केहि समय अगाडी काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको खोेलानाला सम्बन्धिको सुचना र मेयर शाहले फेसबुक मार्फत ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो ।’ भन्दै खोलानाला सम्बन्धी पोस्ट गरेको सुचनाप्रति आपत्ती जनाएकी थिइन् ।

मेयर बालेन शाहको स्टाटस र महानगरपालिकाले निकालेको सूचनाप्रति आपत्ति जनाउँदै उपमेयर डंगोलले मेयरलाई एकतर्फी रुपमा सूचना निकाल्ने अधिकार नभएको बताएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार