Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

कक्षा १० अनुत्तीर्ण भएका विद्यार्थीले पनि सीटीईभीटी अन्तर्गत प्रि–डिप्लोमा कोर्स पढ्न पाउने


कक्षा १० अनुत्तीर्ण भएका विद्यार्थीहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्रि–डिप्लोमा कोर्स पढ्न पाउने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अथवा एसएलसी परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका विद्यार्थीले प्रि–डिप्लोमा कोर्स पढ्न पाउने भएका हुन् ।

असोज २० गते बसेको परिषद्को बैठकले प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८१ संशोधन गरेको थियो । निर्देशिकाको दफा ३(२) मा संशोधन गर्दै प्रि–डिप्लोमा तहको प्रवेश परीक्षामा समावेश हुनको लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको परीक्षा तथा एसईई परीक्षामा सहभागी भएको हुनुपर्ने व्यवस्था गरेको थियो ।

सोही आधारमा अबदेखि प्रि–डिप्लोमा पढ्नका लागि एसईईको परीक्षामा सहभागी भएर फेल भएका (एनजी) आएको भए हुने भएको हो । सीटीईभीटीका सूचना अधिकारी तथा उप परीक्षा नियन्त्रक गोविन्द कुमार श्रेष्ठका अनुसार एसईई वा सो सरहको परीक्षामा सहभागी भएकाले पाउने व्यवस्था गरिएको हो ।

यसअघिसम्म कक्षा १० को परीक्षा पास गरेकाले मात्रै प्रि–डिप्लोमाका कोर्सहरू पढ्न पाउने व्यवस्था गरिएको थियो । एसईईमा एनजी आएका विद्यार्थीहरूलाई प्रि–डिप्लोमा कोर्स अध्ययनका लागि आह्वान समेत गरेको छ । एसईई पास गरिसकेका विद्यार्थीहरूको त्यस्ता कोषहरूमा रुचि नदेखिएको तथा एनजी आएका विद्यार्थीहरू पढ्न नपाउने अवस्था आएपछि सीटीईभीटीले उक्त व्यवस्था गरेको हो ।

‘एकातिर प्रि–डिप्लोमा कोर्सका सिटहरू खाली हुने, अर्कोतिर एनजी आएका विद्यार्थीहरू त्यक्तिकै बस्नुपर्ने देखियो । उनीहरूलाई पढाइतिर केन्द्रित गराउन र सिट खेर जाने समस्या समाधान गर्नका लागि यस्तो व्यवस्था गरियो,’ श्रेष्ठले भने । प्रि–डिप्लोमा अन्तर्गत होटेल व्यवस्थापन, कृषि, इन्जिनियरिङ लगायतका विषय पढ्न पाइने परिषद्ले जनाएको छ ।

होटेल व्यवस्थापन अन्तर्गत प्रि–डिप्लोमा इन कुलिनरी आर्टस्, प्रि–डिप्लोमा इन होटेल म्यानेजमेन्ट रहेका छन् । यी कोर्स १२ महिना पढाई तथा ६ महिना ओजेटी गरेर १८ महिनाका हुनेछन् । त्यस्तै कृषि, इन्जिनियरिङ तथा विविध विषयको समेत १८ महिने कोर्स रहेको परिषद्ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार