नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण कम्पनीलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ।
‘करिब दुई वर्ष अघिको भन्दा निर्माणस्थलमा गर्नु पर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, ४ महिना हेर्छौं त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसारको कारबाहीको प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशक दिँदै कार्यकारी निर्देशक घिसिङले भने।
ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकोले ४ महिनामा कामको प्रगति हेर्न अनुरोध गरेका थिए। ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकोले अहिले काममा केही प्रगति देखिएको छ।
खिम्ती, तामाकोशी र भोटेकोशी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोशी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो। प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको हो।
कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन्।





