
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योती गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले रेड कर्नर नोटिसका लागि सिफारिस गरेको छ । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा (सिआइबी) ले रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको हो ।
ज्योतीसँगै मितेरीका ज्योतीबहादुर भण्डारीपनि परेका छन् । सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ।
यसमा सहकारीले पाँच जनाविरूद्ध जाहेरी दिएको छ। जसमध्ये ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जनाएका छन् ।
प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल शाखाले यसबारे अध्ययन गरी रूजु गरी आवश्यक परे थप कागजात सिआइबीसँग झिकाउनेछ । कागजातहरू सबै पुगेमा रेड कर्नर नोटिस जारी गर्न शाखाले इन्टरपोलमा पत्राचार गरेपछि मात्रै जारी हुनेछ ।
रेड कर्नर नोटिस सिफारिस भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्। यद्यपि धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो।
धनराज र उनकी पूर्व श्रीमती ज्योतिले ललितपुरको मितेरी सहकारीबाट ऋण लिएका थिए। ऋण लिँदा धनराजकी श्रीमती ज्योति मितेरी सहकारीको व्यवस्थापक थिइन्। व्यवस्थापक भएकै बेला ज्योति गुरूङले ललितपुरको मितेरी सहकारीबाट ठूलो रकम अनियमितता गरेको आरोप छ। उनीमाथि सहकारीले १४ करोड ९१ लाख रुपैयाँ रकम अपचलनको आरोप लगाएको छ।
धनराज र ज्योतिको २०७६ सालमा डिभोर्स भइसकेको छ। धनराज र ज्योतिको डिभोर्स भए पनि उनीहरूले मितेरी सहकारीबाट लिएको ऋण तिर्न बाँकी थियो। जसअनुसार २०८१ सालसम्म पनि धनराजले श्रीमतीले लिएको ऋण तिरेको रसिदहरू फेला परेका थिए । रकम अपचलनको आरोप लागेकी ज्योति फरार छिन्।
२०७६ सालमै डिभोर्स भए पनि त्यसको ५ वर्षपछि धनराजले २०८१ सालको जेठमा मितेरी सहकारीको ऋण चुक्ता गरेका थिए। धनराजले उक्त ऋण भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङबाट ९१ लाख रुपैयाँ ऋण लिएर तिरेको बताउँदै आएका छन् ।
त्यसअघि २०८० वैशाख २० गते धनराज गुरूङ कानुन मन्त्री भएका थिए। धनराज गुरूङ २०८० को फागुनसम्म कानुन मन्त्री थिए । धनराज गुरुङले श्रीमतीले लिएको ऋण डिभोर्सपछि पनि आफैले तिरेको भन्दै मितेरी सहकारीसम्बन्धी जोडेर आफूमाथि बिभिन्न आरोप लागेकाले छानबिन गर्न माग समेत गरेका थिए ।
केहि समय अगाडी प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कुनै आशंका छ भने तुरून्त आफूमाथि छानबिन गर्न माग गरेका हुन्।