Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

फुटबलको टिकेट लिन ६ बजेदेखि लाइन


साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट किन्नेहरुको ललितपुरको जावलाखेलमा बिहानैदेखि लाइन लागेको छ । फुटबल हेर्न रंगशालामा प्रवेशका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि टिकट बिक्री खुला गरेको हो । तर आठ नबज्दैदेखि टिकट काट्नेहरु लाइनमा बसेका थिए ।

एन्फाले एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ । यसपटक अनलाइनबाट नभई भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था एन्फाले गरेको छ । त्यसैले टिकट काट्नेहरुको लामो लाइन लागेको छ । यसअघि अनलाइन टिकट खरिद गरिसकेकाहरुको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा नै टिकट काट्नेहरुकोे निकै भिड बढेको छ । फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको छ । तर ११ हजार थान टिकट मात्र बिक्री गरिने एन्फाको तयारी छ । जसमध्ये साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले जनाएका छन् । टिकटको मूल्य ५ सय र एक हजार रुपैयाँ तोकेको छ ।

एन्फाले टिकटमा पनि सीमितता तोकेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारापिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै टिकट किन्न पाउनेछन् । नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुने छ । तर दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जाने छन् ।

उपाधि विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । यसभन्दा अगाडी आइतबार भएको सेमिफाइनलमा नेपाल र भारतबिच प्रतिस्पर्दा भएको थियो । उक्त प्रतिस्पर्धामा नेपालले भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै उपाधिका लागि भिडन्त पक्का गरेका हुन् भने बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै भिडन्त पक्का गरेका हुन् ।

नेपाल र बंगलादेश दुवै यस संस्करणमा अपराजित छन् र उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने दुवै टिमको दावी छ । नेपाल आज बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

यसअघिका ६ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बंगलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहो¥याइ फाइनल खेलको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको जनाएका छन् ।

खेल कात्तिक १ गतेदेखि सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार