
नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किएकी छन् । साफ वुमन्स च्याम्पियनसिप २०२४ बुधबार राति सकिएलगत्तै बिहीबार बिहानै उनी व्यावसायिक फुटबल खेल्न फ्रान्स गएकी हुन् ।
फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी थिइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै छैटौंपटक उपविजेता बनेको थियो । साम्बाले समूह चरणमा एक खेल मात्र खेलिन् भने सेमिफाइनल र फाइनल गरी कुल तीन खेल खेलिन् । जसमा दुई गोल गरिन् । भुटानविरुद्ध पहिलो खेल फिफा विन्डोमा नरहेकोले क्लबले उनलाई ढिला रिलिज गरेको थियो ।
अक्टोबर २० मा नेपाल आइपुगेर भोलिपल्ट माल्दिभ्सविरुद्धको खेलका लागि उपलब्ध भएपनि उनले खेलिनन् । प्रशिक्षक राजेन्द्र तामाङले आवश्यक परेमा प्रयोग गर्ने बताए पनि सावित्राले खेल्नुपरेन । माल्दिभ्सविरुद्ध नेपाल ११–० को फराकिलो अन्तरले विजयी भएको थियो ।
सेमिफाइनलमा भारतविरुद्ध एक गोलले पछि परेको स्थितिमा सावित्राले बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टीसुटआउटसम्म पु¥याएकी थिइन् । उनले सुटआउटमा गोल पनि गरिन् । नेपालले पेनाल्टीसुटआउटमा भारतलाई ४–२ ले हराएर फाइनल पुगेको थियो ।
तर, लगातार दोस्रोपटक बंगलादेशसँग फाइनलमा पराजित हुँदा पहिलोपटक साफ जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन । उता सावित्राले भने लगत्तै क्लबमा सामेल हुनेछिन् । उनको क्लब गुएग्याम्पले आउने शनिबार लिगमा मोन्टपिलरसँग खेल्दैछ ।
नेपाल आउनुअघि स्ट्रासवर्गलाई हराउँदै गुएग्याम्पले लिगमा पहिलो जित हात पारेको थियो ।