सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइएको छ । लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो।
सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान चलिरहेकोले लामिछानेमाथि कास्की अदालतमा अभियोजन प्रस्तुत गर्न समय लाग्ने भएको छ ।लामिछानेलाई कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो ।
लामिछानेलाई शुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । कात्तिक १४ मा म्याद सकिएको भए पनि तिहारको बिदा परेकाले आज मंगलबार मात्रै अदालतमा पेश गरिएको हो ।
अनुसन्धानका लागि प्रमाणहरू जुटाउँदै गर्दा थप अनुसन्धान गर्नुपर्ने भएकाले म्याद थपका लागि आग्रह गरिने भएको जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले जनाएको छ । लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा पनि कास्कीमै अनुसन्धान गरिने भएको छ । सभापति लामिछानेलाई रुपन्देहीबाट पनि प्रक्राउ पुर्जी जारी भएको छ ।
लामिछानेलाई रुपन्देही लैजाने विषयमा प्रहरीले कास्की अदालतले गर्ने निर्णय हेरेर आवश्यक रणनीति बनाउने भएको छ । आज कास्की अदालतबाट म्याद थप भएमा छठपछि बयानको लागि रुपन्देही लैजाने, यदि म्याद नथपिएमा रुपन्देहीबाट यस अघि भएको पक्राउ पुर्जीको आधारमा पक्राउ गरी रुपन्देही लैजाने योजनामा प्रहरी रहेको स्रोतले बताएको छ ।
रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले कास्की अदालतले दिने आदेशको आधारमा छठपछि रुपन्देही ल्याउने कि आज भोलि नै ल्याउनेमा भर पर्ने जनाएका छन् । यससँगै रवि लामिछानेलाई कास्की अदालतले थुनामुक्त गरे पनि पुनः रुपन्देही प्रहरीले पक्राउ गर्ने देखिएको छ ।
फलतः लामिछाने तत्काल हिरासतमुक्त नहुने देखिएको छ । बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । उक्त रकम अपलचनमा रविलाई सङ्गठित ठगीको आरोप लागेको छ।
साथै सहकारी ठगीमा पक्राउ परेका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी र लिला पछाईंलाई पनि अदालत उपस्थित गराइएको छ। जोशीलाई पनि कास्कीबाट रुपन्देही लगेर बयान लिएको थियो । जोशी असोज ६ गते र पछाईं असोज १४ गते पक्राउ परेका थिए।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् ।
उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।
जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।
जिवी राई अझै पनि फरार रहेका छन् ।