Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

सुटुक्क जापान जाँदा मन्त्री पद चेट


सुटुक्क जापान जाँदा एकजना मन्त्रीको पद चेट भएको छ । कूटनीतिक मर्यादा उल्लंघन गरेर सुटुक्क जापान जाँदा विवादमा तानिएका कोशी प्रदेशका एक मन्त्रीको पद चेट भएको हो ।

प्रकृया पूरा नगरी जापान गएका कारण कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिनुपरेको छ । बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको राजीनामा पत्रमा मन्त्री अधिकारीले नैतिकताको आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

कुनैपनि मन्त्रीले विदेश भ्रमण गर्नुपरेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ ।

तर, कार्तिक १३ गते जापान उडेका कोशी प्रदेशका कानुन मन्त्री लिलाबल्लभ अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई त परै जाओस् कोशी प्रदेशका मुख्यमन्त्री तथा अरु कुनैपनि मन्त्रीलाई सुइँको समेत दिएका थिएनन् ।

मन्त्री नै बेपत्ता भएको भन्दै केहीदिन राजनीतिक वृत्तमा सोधीखोजी भएको थियो । पछि मन्त्री अधिकारी आफैंले काम विशेषले आफू जापान गएको बताएका थिए । हतारमा आफू जापान जानुपर्ने अत्यावश्यक काम परेका कारण कसैलाई जानकारी गराउँन नपाएको उनको भनाई थियो ।

कानुन मन्त्रीले नै कानुनको उल्लंघन गरेको भन्दै त्यसयता उनको निरन्तर आलोचना हुँदै आएको थियो । कानुनमन्त्रीले कि त राजीनामा दिनुपर्ने अन्यथा उनलाई मुख्यमन्त्रीले बर्खास्त गर्नुपर्ने आवाज राजनीतिक वृत्तमा उठेको थियो ।

कानुनको पालना गराउँनुपर्ने मन्त्रीले नै पदीय मर्यादा उल्लंघन गरेको भन्दै चर्को आलोचना भएपछि अन्ततः उनी राजीनामा गर्न बाध्य भएका हुन् । बुधबार पदबाट राजीनामा गरेका अधिकारीले आफ्नो राजीनामापत्रमा भनेका छन्  ।

यही २०८१ सालको तिहार बिदाको समयमा मैले गरेको निजी जापान भ्रमणको सन्दर्भमा भएका केही प्रक्रियागत विषयमा उठेका प्रश्नहरूको सन्दर्भमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो विषयमा प्रश्न उठिसकेपछि म एक जिम्मेवार पार्टीको जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताको आधारमा उक्त मन्त्रीपदबाट राजीनामा गरी नेतृत्वलाई सहयोग पु¥याउनु उचित ठानी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्री पदबाट राजीनामा गरेको छु ।’

मन्त्रीले राजीनामा गरेपछि केहीले उनलाई धन्यवाद भनेका छन् भने केहीले ढंग नपु¥याउँदा मन्त्री पद गुमाउनुपरेको टिप्पणी गरेका छन् । तर, मन्त्रीपदबाट राजीनामा गरेपछि भने अधिकारीले यसबारे थप केही बोलेका छैनन् ।

नेपाली राजनीतिमा नैतिकताको खँडेरी परेका बेला आफ्नो गल्तीको महसुस गर्दै मन्त्री पदबाट राजीनामा दिनुलाई स्वागतयोग्य कदमका रुपमा केहीले टिप्पणी गरिरहँदा यस्ता घटनाबाट पाठ सिक्न पनि आवश्यक रहेको उनीहरुको भनाई छ ।

विदेश जानका लागि र विदेशीहरुसँगको भेटघाटका लागि मरिहत्ते गर्ने राजनीतिक नेतृत्वका कारण कुटनीतिक क्षेत्रमा नेपाल बदनाम छ । प्रदेशका मन्त्रीहरु मात्रै नभई कुटनीति उल्लंघनका घटनामा प्रधानमन्त्री भइसकेकाहरु पनि अग्रपंक्तिमा देखिन्छन् ।

विभिन्न समयमा विदेशी नेताहरुलाई भेट्न नेपालका विभिन्न होटेलमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरु नै लाइनमा लागेका दृश्य नेपालीहरुका लागि लज्जाको विषय हो ।


प्रतिक्रिया दिनुहोस !
विचार