Logo
१० बैशाख २०८२, बुधबार
|  Wed Apr 23 2025

तराई मधेशका विधालयमा कानूनी शिक्षा प्रवर्धनः ४० विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न


कानूनी आवाज अभियान अन्तर्गत तराई मधेश कानून विद्यार्थी समाजले ४० विद्यालयहरुमा कानूनी सचेतना कार्यक्रम आयोजना सम्पन्न गरेको छ। तराई मधेशका कानून अध्ययनरत विद्यार्थीहरुको साझा संस्थाको रुपमा स्थापित यस संस्थाले कानूनी क्षेत्रमा काम गर्दै आएको छ।

“नेपालको कानून सबैले जानुन्” र “कानूनी शिक्षामा सबैको पहुँच” भन्ने मूल नाराका साथ आयोजना गरिएको यसअभियान मार्फत विशेष गरि तराई मधेशका विद्यार्थीहरुमा कानूनी जागरुकता बढाउने मुल उदेश्य रहेको थियो।

यस अभियान अन्तर्गत सिरहा, सप्तरी, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा ,रुपन्देही, नवलपरासी लगायतका जिल्लाका विद्यालयहरुमा कानूनी शिक्षा, मानव अधिकार, लैङ्गिक समानता, साइवर अपराध तथा साइवर कानून, नेपालको संविधान तथा राज्यको संरचना, सामाजिक समस्या तथा समाधान, मौलिक हक लगायतका विषयमा कार्यक्रम गरिएको थियो।

यस अभियान अन्तर्गत ४० विद्यालयहरुमा गरिएको कार्यक्रम मार्फत लगभग ३००० विद्यार्थीलाई कानूनी विषयमा सचेत गराउन सफल भएको कुरा संयोजक प्रभात कुमार लहेराले बताएका छन्।

साथै महोत्तरी, बारा र रौतहट गरि तीन जिल्लाका ४ ठाँउमा नमुना संसदीय अभ्यास कार्यक्रम पनि आयोजना गरिएको थियो। महोत्तरीमा भंगहा नगरपालिकाका सहयोगमा श्री उच्छ मा. वि. बारामा मनकामना कलेजको सहयोगमा मनोकामना कलेजमा, रौतहटको परोहा नगरपालिकाको सहयोगमा श्री ब्रम्हज्योति मा. वि. मा र रौतहटमै श्री नमुना मा. वि. गरुडाको सहयोगमा श्री नमुना मा. वि.मा नमुना संसदीय अभ्यास कार्यक्रम आयोजना गरिएको थियो।

यस अभियानमा नेपालको विभिन्न कानून क्याम्पसहरुमा कानून अध्ययनरत पूर्वी तराईको झापा देखि पश्चिम कपिलवस्तु सम्म स्थाई घर भएका ७३ जना विद्यार्थीको सहभागिता थियोे । सहभागी सम्पूर्णलाई जिल्लाको आधारमा ९ वटा समुहमा विभाजन गरि समुह संयोजक पनि तोकिएको थियो ।

कानून अध्यनरत विद्यार्थीहरुले समाजमा कानूनी जागरुकताको माध्यमवाट समाजिक विकास गर्न तथा सुशासन कायम गर्न ठूलो भूमिका हुन्छ भन्ने मूल अवधारणालाई व्यवहारमा उतार्न आयोजना गरिएको यो अभियान ‘कानूनी आवाज’ (Legal Voices) लाई आगामी दिनमा पनि निरन्तरता दिने तराई मधेश कानून विद्यार्थी समाजका तर्फबाट अभियान संयोजक प्रभात कुमार लहेराले बताएका छ्न्।


प्रतिक्रिया दिनुहोस !
विचार