Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

एमालेका पूर्वमन्त्री पक्राउ परेलगतै काठमाडौ ल्याइँदै


मानव तस्करीको आरोपमा कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगर विमानस्थलबाट काठमाडौं ल्याइदैछ ।

केही दिनअघि अनधिकृत रुपमा विभिन्न व्यक्तिसहित जापान पुगेका अधिकारीलाई त्यहाँबाट फिर्ता गरिएको थियो । उनलाई मानव तस्करीको आरोप लागेको छ । उनीसँगै जापान पुगेर फिर्ता भएकाहरु यसअघि पक्राउ परेको समाचार सार्वजनिक भएको थियो । अधिकारीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको थियो ।

संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरिएको थियो । मन्त्री जापानबाट फिर्ता भएपछि उनलाई मानव तस्करीको आरोपमा पक्राउ गर्नुपर्ने आवाज जनस्तरबाट उठेको थियो भने चौतर्फी आलोचनापछि मन्त्री अधिकारीले राजीनामा दिएका थिए । यता हिजोमात्रै मन्त्री अधिकारीलाई उनको पार्टी नेकपा एमालेले समेत निलम्बन गरेको थियो ।

अधिकारीमाथि अनुसन्धानको माग सहित एमाले कोशी प्रदेशले विज्ञप्ती निकालेकै भोलिपल्ट उनलाई पक्राउ गरिएको हो । हिजो बसेको एमाले सचिवालय बैठकले पनि अधिकारी निलम्बनका विषयमा कोशी प्रदेशले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

यसैबीच नेकपा एमालेले मन्त्री अधिकारीलाई पार्टी जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेलगत्तै यता रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले उक्त निर्णयको स्वागत गर्दै आफ्नो पार्टी नेतृत्वप्रति भने असन्तुष्टी व्यक्त गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले उपसभामुख इन्दिरा राना र पार्टी सभापति रवि लामिछानेको नाम नलिई पार्टीले उनीहरुलाई पनि निलम्बन गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।

नयाँ पार्टीको चरित्र नयाँ हुन नसकेको भन्दै उनले लेखेको स्टाटस आफ्नै पार्टी नेतृत्वप्रति लक्षित रहेको धेरेको अनुमान थियो । उपसभामुख इन्दिरा रानाले अनधिकृत व्यक्तिहरुलाई अमेरिकाको भिसा प्रकृया छिटो गरिदिन भन्दै नेपालस्थित अमेरिकी दुतावासलाई पत्र लेखेको विषयलाई विपक्षी दलहरुले केही महिनाअघि मानव तस्करीसँग जोडेर आरोप लगाएका थिए भने उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज समेत उठेको थियो । तर, नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज संसदमा उठिरहँदा रास्वपाका सांसदहरुले भने संसदमा उपसभामुखको बचाउ गरेका थिए ।

गणेश कार्कीको पछिल्लो स्टाटस सम्भवतः यतैतर्फ केन्द्रीत भएको हुनसक्ने केहीको अनुमान छ । यस्तै सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पनि पार्टीले उनका पक्षमा गरिरहेको आन्दोलन कार्कीलाई ठिक नलागेको भन्दै उनी निकटका व्यक्तिहरुले भनिरहेका छन् । त्यसैले पनि सोही पृष्ठभूमीमा आएको उनको पछिल्लो स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यता मानव तस्करीको आरोपमा एमालेका पूर्वमन्त्री पक्राउ परेपछि रास्वपाका तर्फबाट उपसभामुख बनेकी इन्दिरा रानाका विषयमा पनि अनुसन्धान हुनुपर्ने आवाज उठ्न थालेको छ । करिबकरिब यी दुबै केस उस्तै भएको कतिपयको तर्क छ । नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित सरकारले रास्वपा नेतृत्वलाई थप दबाब दिने उदेश्यले पनि कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेको हुन सक्ने कतिपयको बुझाई छ ।

आफ्नै पार्टी नेतृत्वको सरकारले अधिकारीलाई पक्राउ गरेर सरकारले कसैलाई काखा र कसैलाई पाखा नगर्ने नीति लिएको भन्दै एमालेका नेता कार्यकर्ताले भने कोशी प्रकरणमा सरकारको निर्णयको स्वागत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार