चलचित्र पूर्णबहादुरको सारंगीले नेपाली सिने क्षेत्रमा तहल्का पिटिरहेका बेला फिल्मको कथा र विषय बस्तुलाई कपी गरिएको आरोप लागेको छ । उपन्यासकार डा. शिवशंकर बस्यालले आफ्नो उपन्यास सङ्ग्रामपुरको मूल कथा फिल्मसँग मिलेको बताएका हुन् ।
आफ्नो उपन्याससँग फिल्मको मुल कथा मिलेको भन्दै एकजना पाठकले जानकारी गराएपछि आफूपनि फिल्म हलमा गएर फिल्म हेरेको बताउँदै उनले मुल कथा संग्रामपुरसँग मेल खाएको आरोप लगाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा बुँदागत रुपमा एक लामो स्टाटस लेख्दै डा.बस्यालले भनेका छन्; उपन्याससँग फिल्मको मुल कथा मिलेको छ यो कुरा भोलीका दिनमा मैले नबोलौंला तर, इतिहासमा कोलाहल रहिरहनेछ ।
फिल्मका दुई मुख्य पात्र पूर्णबहादुर र कमलजस्तै संग्रमपुरमा रूपमान र समीर रहेको, संग्रामपुरमा स्त्री बिछोडको प्रसंग फिल्ममा पनि रहेको, उपन्यासको समीरजस्तै कमल पनि टप विद्यार्थी भएको, समीरले जस्तै कमल गन्धर्वले मेडिकलमा नाम निकालेको, रूपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गएजस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न गएको जस्ता जस्ता फिल्मको कथाका मूल प्रसंगहरु उपन्याससँग मिलेको लेखक बस्यालको दाबी छ ।
उनले यी बाहेक उपन्यासका अन्य प्रसङ्ग र प्रभाव समेत फिल्ममा देख्न सकिने बताएका छन् । उनले सामाजिका सञ्जाल फेसबुकमा लेखेका छन्; बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो । यसै बीचमा संग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्रामपुर उपन्यासभित्र रहेको कथा सङ मिलेको कुरा बताए ।
यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगे । पूर्णबहादुरको सारङ्गी लाई एकपटक संग्रामपुर उपन्याससँग जुधाएँ । चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका मूल प्रसंग मिलेको पाएँ ।
पूर्णबहादुरले सारंगीले नेपाली सिने क्षेत्रमा तहल्का पिटिरहेका बेला आएको डा. बस्यालको यो स्टाटसले भने तरंंग सिर्जना गरेको छ । कतिपयले फिल्म सोचे भन्दा धेरै चल्न थालेपछि डा. बस्यालले इश्र्या गरेको आरोप लगाएका छन् भने कतिपयले डा.बस्यालको आरोपलाई ध्यान दिन आवश्यक भएको बताएका छन् ।
पूर्णबहादुरको सारंगी फिल्मबारे डा.बस्यालको स्टाटस सम्बन्धी आएका समाचारमा कतिपयले भने अब यही स्टाटसका कारण उपन्यासको बिक्री समेत बढ्ने बताएका छन् । यता यो समाचार तयार पार्दाका बखतसम्म भने फिल्मको निर्माण पक्षले डा.बस्यालको आरोपबारे केही बताएको छैन । यद्यपि फिल्मको कथा लेखन समेत गरेका निर्देशक सरोज पौडेलले भने यसबारे केही बोल्ने अपेक्षा गरिएको छ ।
आफ्ना बुबाको निधन भएपछि महसुस भएको रिक्ततालाई आफूले फिल्मको कथाका रुपमा उतारेको पौडेलले यसअघि विभिन्न मिडियामा जानकारी गराएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ ले छोराका लागि बाबुले देखेको सपनाको कथा रहेको छ । फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन् ।
फिल्ममा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको समेत अभिनय रहेको छ ।