Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

धरहरामा फोटो खिचेको पनि पैसा !


धरहरा चढ्दा मात्रै होइन अबदेखि धरहरा परिसरमा प्रवेश गर्दा र फोटो खिच्दा पनि शुल्क तिर्नुपर्ने भएको छ । यसअघि संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि परीक्षणका लागि निःशुल्क रुपमा खुला गरिएको धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो । बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ ।

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट अर्थात् १०० रुपैयाँमा टिकट पाउने छन् । यस्तै सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई २०८१ मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको थियो । शहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको हो ।

त्यस्तै धरहरामा पार्किङ गर्दा आजबाट चार पांग्रे गाडीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पांग्रेलाई १० रुपैयाँ लाग्नेछ । धरहरा परिसरमा प्रवेशमात्रै गर्नेहरुलाई पनि ५० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तोकिएको छ । धरहरा परिसरमा व्यवसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैंयाँ शुल्क तोकिएको छ । धरहरामा फोटो खिच्न चाहनेले फोटोग्राफीका रुपमा प्रतिघन्टा १ हजार रुपैंयाँ शुल्क तिर्नुपर्नेछ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सेतो टावरको संज्ञा दिएको धरहरा सरकारले सशुल्क सञ्चालन गर्ने निर्णय गरेपछि यतिबेला विभिन्न प्रकारका प्रतिकृया सार्वजनिक भएका छन् । धरहराको शुल्क महंगो भएको भन्दै कतिपयले आलोचना गरेका छन् भने कतिपयले घुमघाम र मनोरञ्जनका लागि बनाइएका स्थानको शुल्क लिनुलाई अन्यथा भन्न नमिल्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार