Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

नरेश भट्टमाथि श्रीमती हत्या आरोपमा मुद्दा दायर, कार्पेटमा लागेको रगत ममताकै भएको पुष्टि


अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको श्रीमान नरेश भट्टमाथि पत्नीको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा त्यहाँको प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको हो ।

नरेशले पत्नीको हत्या गरेर शव लुकाएको आरोप लाग्दै आए पनि प्रहरीले ठोस प्रमाणको अभावमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा हाल्न सकेको थिएन । कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका थियो ।

अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लुस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रङ देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

तर, घरभित्र भेटिएको रगतको टाटोको डीएनए परीक्षण गर्दा ममतासँग मेल खाएपछि प्रहरीले मुद्दा हाल्न आधार बनेको हो । घटनास्थलबाट तत्कालै रगतको नमूना संकलन गरिएको भए पनि यसको डीएनए नतिजा आउन लामो समय लागेको थियो । अदालतको ग्रान्ड जुरीले अनुमति दिएपछि प्रहरीले अभियोग पत्र दर्ता गरेको हो ।

नरेशमाथि ममताको हत्या गरेकोसँगै शव टुक्राटुक्रा पारेको र शव बेपत्ता बनाएको थप दुईवटा चार्ज लगाइएका छन् । यी सबै आरोप पुष्टि भएको खण्डमा उनलाई आजीवन कारावासको सजाय हुनसक्ने जानकारहरू बताउँछन् ।

अमेरिकाका कतिपय राज्यहरूमा यस्तो केसमा मृत्युदण्डको समेत प्रावधान छ । तर, भर्जिनियाको कानूनमा मृत्युदण्ड भने छैन । त्यसैले उनीमाथि आजीवन कारावासको अधिकतम सजाय हुन सक्छ । मुद्दा दायरपश्चात् पहिलो पेशी हिजो राखिएको थियो, जसमा नरेश पनि उपस्थित थिए ।

महिला न्यायाधीशले नरेशमाथि होमिसाइड चार्ज (कर्तव्य ज्यान सम्बन्धी मुद्दा) दायर भएको जानकारी गराउँदै उनलाई अपराध कबुल गर्न भनेकी थिइन् । हत्याको अभियोग लागेको थाहा पाउँदा नरेश निकै हताश बनेको सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी दुवै हात पुर्पुरोमा राखेर बसेका थिए ।

नरेशमाथि यसअघि प्रहरीले शव लुकाएको कमजोर अभियोग लगाएको थियो । नेपाली समुदायहरूले हत्यामै मुद्दा चलाउनुपर्ने माग गर्दै आएका थिए । मनासास प्रहरीका प्रमुख मारियो लुगोले एक पत्रकार सम्मेलन गर्दै यथेष्ट प्रमाण संकलनपश्चात हत्याको मुद्दा दायर भएको जानकारी दिए ।

ममताको शव भने अझै पनि फेला नपरेको र खोजी जारी राख्ने उनको भनाइ छ । पत्रकार सम्मेलनमा ममताका आमा र भाइ पनि उपस्थित भएका थिए । लुगोले प्रहरीसँग हत्या अभियोग प्रमाणित हुने पर्याप्त प्रमाणहरू रहेको र नरेश उम्किन नसक्ने बताए । हत्याको मुद्दा लागेसँगै अर्को वर्ष यसको अन्तिम सुनवाइ हुने छ ।

२०२५ को सेप्टेम्बर ८ देखि अक्टोबर ३ तारिखभित्र प्रत्येक दिन सुनवाइ हुने र फैसला सुनाइने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम मेडिकल कलेजमा कार्यरत नर्स ममता काफ्ले गत जुलाईमा बेपत्ता भएकी थिइन् ।

जुलाई २७ मा अन्तिम पटक कार्यालयमा गएकी उनी त्यसपश्चात् हराएपछि कार्यालयका सहकर्मीले प्रहरीमा खबर गरेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि २२ अगष्टमा नरेशलाई पक्राउ गरेको थियो । नरेश र ममताकी डेढ वर्षकी छोरी छन् ।

नरेश जेल परेपछि नेपालबाट अमेरिका गएका ममताका आमा र भाइले छोरीको हेरविचार गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार