त्रिवि क्रिकेट मैदान बाहिर आक्रमणमा परेको भनिएका युवक अमनकुमार सिंहमाथि कुटपिट नभएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको फाइनल खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर नश्लीय र साम्प्रदायिक व्यवहार गर्दै अमनमाथि कुटपिट भएको भनेर सामाजिक सञ्जालमा विरोध भएको थियो ।
भिडले कुटपिट र लछारपछार गर्दा अमनको दुवै हात भाँचिएको भनेर मधेसी आयोगमा उजुरी परेपछि आयोगले छानबिन गर्न भनेको थियो । तर, प्रारम्भिक छानबिन गर्दा अमन कुमार सिंंह खेल सकिनुअघि नै अस्पतालमा भर्ना भएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनको अनुहार भरी चोट र निलडाम समेत भएको थियो ।
यु–१९ समूहमा क्रिकेट समेत खेल्ने सिंहको दुवै हात र शरीरको विभिन्न भाग लगायत खुट्टामा समेत चोट लागेको जनाइएको छ । प्रहरीका अनुसार अस्पतालको रेकर्ड अनुसार शनिबार २ बजेर १२ मिनेटमा उनी ट्रमा सेन्टरमा भर्ना भएको देखिएको छ । त्यसबेला फाइनल खेल सकिएको थिएन ।
सर्लाहीको बलरा घर भएका अमन अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अमनको काका नाता पर्ने उमेश सिंहले भतिजाले आफूमाथि कुटपिट भएको बताउने गरेको प्रहरीलाई जानकारी दिए थिए । ‘उसले कसैले हिर्काएपछि लडेँ, त्यसपछि के भयो मलाई थाहा छैन भन्ने गरेका छन् ।’ क्रिकेट मैदान बाहिर हुलदङ्गा भएको र त्यहाँ अमन घाइते भएको परिवारको जिकिर छ । तर, अमन लडेर घाइते भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
फाइनल खेल सकिएपछि हुलदंगा गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका घर भएका २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका घर भएका १८ वर्षीय गणेश साउद छन् ।
उनीहरूले जनकपुर बोल्ट्सका समर्थकहरूलाई नश्लीय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ । घाइते सिंह दरबार हाइस्कुलमा कक्षा १२ मा पढ्दै छन् । भिडले कुटपिट लछारपछार गर्दा दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी परेको थियो ।
उक्त उजुरी पश्चात प्रहरीले अनुसन्धान थालेको थियो । एनपीएल सकिएपछि कुटपिट भएको भनिएपनि उक्त घटना सत्य नभएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । खेल पछि कुटपिट भएको भनि समाचार बाहिरिएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।
सद्भाव बिथोल्न खोजेकोको घटना अस्वीकार्य भएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले पनि आरोपीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए ।
उनले भनेका थिए ‘जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ, सरकारले यसमा तुरुन्तै कारबाही अगाडी बढाओस् ।’