Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

आशिका तामाङ पक्राउ, के हो मुद्धा ?


अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो । उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ । आशिका अभिनेत्री पनि हुन् ।

कुनै बेलाकी चलचित्र कलाकार, पेसाले नर्स आशिका तामाङ अहिले सोसल मिडियामा निकै चर्चित छिन् । १५ वर्ष जर्मनी बसेर स्वदेश फर्केकी उनी पछिल्लो समय नेपालका सरकारी निकाय, सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिति र अत्याचारको उजागर गर्दै आएको दाबी गर्छिन् ।

उनै आशिकाविरुद्ध केहि दिन अगाडी सार्वजनिक मुद्दा चलाउन माग गर्दै प्रहरीमा उजुरी परेको थियो । भक्तपुरको सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने गरी अराजक गतिविधि गरेको भन्दै प्रहरी वृत्त जगातीमा उजुरी दिएको भन्दै आशिका आफैले पनि पत्रकार सम्मेलन गरेर आफूविरुद्ध मुद्धा परेको कुरा सार्वजनिक गरेकी थिइन् ।

त्यतिबेला उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल चढेबापत सर्वसाधारणसँग पैसा लिएको भन्दै टिकट प्याडमा आगो लगाइदिएकी थिइन् । नगरपालिकाका अनुसार, उनले त्यहाँको अस्थायी संरचनामा तोडफोडसमेत गरेकी थिइन् ।

यससम्बन्धी भिडियो उनकै फेसबुकदेखि यट्युब च्यानलमा समेत प्रसारण भएको थियो । नगरपालिकाको तर्फबाट कानुन शाखा प्रमुख कपिलबहादुर अधिकारीले दिएको उजुरीमा आशिकाले कर्मचारीलाई धम्कीसमेत दिएको उल्लेख गरिएको थियो । तर, त्यतिबेला नगरपालिकाको गल्ती भएकैले उजुरी परेपनि आफूलाई प्रहरीले पक्राउ गर्न नसकेको उनले बताएकी थिइन् ।

केही समय अगाडी आशिकाले त्रिभुवन विमानस्थलमा पार्किङ शुल्कमा सर्वसाधारणमाथि भइरहेको अत्याचारको विषय उठाएकोमा धेरैले उनको तारिफ पनि गरेका थिए । यद्यपि, उनको प्रस्तुति शैलीलाई लिएर प्रश्न पनि उठ्ने गरेको छ ।

उनले समाजलाई झन् धेरै भाँड्ने र निराश पार्ने काम गरेको टिप्पणी गर्नेहरू पनि छन् । केही वर्षअघि ‘जनावरको हत्या गर्नु, खानु तर घरपरिवार, घरबार नभएका खसी, खसिनीहरूलाई हत्या गर्नू’ भनेर ट्रोल बनेकी उनले यसबीचमा ‘दुःखी, पीडित’लाई सहयोग गरेर मनग्य समर्थक पनि बटुलिसकेकी छन् ।

केही वर्षयता समर्थकले उनलाई ‘सामाजिक अभियन्ता’ भन्ने गरेका छन् । उनीविरुद्ध कसले उजुरी गरेका हुन् भन्ने कुरा भने खुलिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार