Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

बन्दुकको बटले हानेर ६९ वर्षीय वृद्धको हत्या


प्युठानमा ६९ वर्षीय चिन्तामणि उपाध्यायको विभत्स हत्या भएको छ । प्युठानको गौमुखी गाउँपालिका–५ का वृद्ध उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा ढुङ्गा र बन्दुकको बटले पटक पटक हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

१८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए । मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल गएको थियो ।

उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाउँदा २४ घण्टा नबित्दै हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदु कुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार जेदु कुमारीले उपाध्यायलाई फोन गरेर इमर्जेन्सी बोलाएका थिए ।

उनले गर्नेपर्ने काम भएको भन्दै छिट्टै आउन फोन मार्फत अनुरोध गरेकी थिइन् । फोनमा कुरा भएको केहि समयमा नै उपाध्यायले जेदु कुमारीलाई भेटेका थिए । त्यसपछि दुई जना मिलेर हत्या गरेको पाइयो’ स्रोतले भन्यो, ‘उपाध्यायलाई उनीहरुले ढुंगा र बन्दुकको बटले हानेर हत्या गरेको खुलेको छ ।’

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार