Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

हल्लैहल्ला चलेपछि बगरमा पतेरो टिप्नेको भिड


चिनियाँ व्यापारीले महंगो मुल्यमा किन्ने हल्लापछि गोरखाको बूढीगण्डकी बगरमा पतेरो खोज्दै टिप्नेहरूको भिड लागेको छ। धार्चे गाउँपालिकामा पर्ने माछीखोला र चुमनुब्री गाउँपालिकामा पर्ने जगतलगायत बुढीगण्डकी नदी किनारका बगरमा रहेका पतेरो स्थानीय बासिन्दाले टिपेर लगेका हुन् ।

एक स्थानियका अनुसार तीनचार दिन अघि बगरमा पतेरो टिप्ने स्थानियहरुको भिड नै लागेको थियो । अहिले भने पतेरो कम पाउन थालेपछि पतेरो टिप्न जाने मान्छेको भिड पातलिएको छ ।

पतेरो महँगोमा बिक्री हुन्छ, स्थानीय व्यापारीमार्फत् चिनियाँ व्यापारीले किन्छन् भन्ने हल्ला चलेपछि स्थानीय बासिन्दा घर नजिकै बुढीगण्डकी बगरमा पतेरो टिप्न पुगेका थिए। पतेरो प्राय बोटविरूवामा बस्ने गर्छ। यो एकप्रकारको किरा हो।

यसले बारीको सागपात खाइदिन्छ। छोए ठस्स गन्हाउँछ। त्यसैकारण पतेरो किराबाट मान्छे टाढै बस्न रुचाउँछ। तर, त्यही किरा खोज्न बूढीगण्डकी बगरमा भने भीड लागेको समाचार बाहिरिएपछि धेरै मान्छे अचम्मा परेका छन् ।

चिनियाँ व्यापारीले किलो कै ८०० रुपैयाँमा किन्ने हल्ला हल्लाकै भरमा। स्थानीयले बगरका साना, ठूला ढुंगा पल्टाउँदै त्यसभित्र लुकेर रहेको पतेरो संकलन गरेका हुन् । गेग्य्रान खोतलेर पनि पतेरो समातेका छन्।

बूढीगण्डकी बगरमा पहिलो पटक पतेरो संकलन भइरहेको छ। माछाखोला बगरमा पनि पतेरो खोज्ने गाउँले धुरिएका छन्। बूढीगण्डकी आसपासका गाउँबस्तीका बासिन्दा पतेरो खोज्ने गरेको एक स्थानीयले बताए ।

पतेरो संकलन काम बिल्कुल नयाँ अभ्यास भएकाले वास्तविकता जानकारी नहुञ्जेल काम रोक्न आग्रह गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ। तर यो केका लागि बिक्री हुन्छ हुँदैन कसले हल्ला फिजायो भन्नेबारे भने केहि पनि जानकारी नभएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार