Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

महायज्ञको नाममा दलित परिवारमाथि ज्यादती


महायज्ञको नाममा दलित परिवारको घर भत्काएर २ फिट माटोसमेत खनेर फालिएपछि अहिले सामाजिक सञ्जालमा बिभिन्न टिक्काटिप्पणी सुरु भएको छ । स्रोतका अनुसार सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको हो ।

दलित भन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ । यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ । पारिवारीक स्रोतका अनुसार महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै घर भत्काइएका हुन् ।

‘यज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछि पालिका अध्यक्ष र पूर्व वडा अध्यक्षकै मिलोमतोमा फागुन १० गते डोजर लगाएर हाम्रो घर भत्काइदिए, परिवारका एक सदस्यले भने । ‘त्यतिमात्र होइन, यहाँको दुई फिट माटो समेत खनेर हटाइयो ।’ सामाजिक सञ्जालमा दिपककी श्रीमतीको विलौना भाइरल भएपछि अहिले दिपकको परिवारलाई बिभिन्न धाकधम्की आइरहेको बताइएको छ ।

धम्की दिएर दिपककी श्रीमतीलाई एउटा कोठामा थुनेर बोली फेर्न लगाई आफ्नै खुसीले ठाँउ छाडिदिएको समेत भन्न लागाइएको स्थानियहरुको भनाई छ । दिपक र उनकी श्रीमती गाउँपालिकामै सरसफाइको काम गर्छन् । जागिरबाट हटाउने र गाउँबाट निकाला गर्ने धम्की दिएपछि अनिता ‘म आफैँ यहाँबाट गएको’ भन्न विवश भएकी छन् ।

दिपक र अनिता आफ्नै जग्गाजिमिन नभएकाले विगत दुई दशक अघिदेखि मधेश सरकारले बनाइदिएको उक्त घरमा बस्दै आएका थिए ।
पाँच वर्षअघि मधेश प्रदेश सरकारले जनता आवास योजना अन्तर्गत उनीहरुका लागि दुईकोठे पक्की घर पनि बनाइदिएको थियो । महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ ।

अहिले त्यही पक्की घर भत्काइएपछि डोम परिवार सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको छाप्रोमा सर्न बाध्य भएको छ । दीपक र अनिताको सात जनाको परिवार छ । एकान्तमा रहेको विद्यालयको जग्गामा उनीहरु अहिले छाप्प्रो बनाएर बसेका छन् । उक्त ठाउँमा बिजुली, खानेपानी लगायत आधारभूत सुविधाको समस्या रहेको छ ।

त्यहाँ बाट पनि लखेटीनुपर्ने पो हो की भन्ने डरमा डोम परिवार अन्धकारमा त्रासदीपूर्ण रात बिताउन बाध्य भएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार