Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

रवीन्द्र मिश्रसहित २५ जनाविरुद्ध म्याद थप गर्न अदालत उपस्थित गराउँदै प्रहरी


राजावादीको हिंसात्मक आन्दोलनमा पक्राउ परेका (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई अनुसन्धानका लागि प्रहरीले थप म्याद लिने तयारी गरेको छ । यसअघि थप भएको ७ दिनको म्याद आज सकिँदैछ। जिल्ला प्रहरी परिसरले अनुसन्धानका लागि थप म्याद थप गर्न उनीहरूलाई आइतबार अदालत उपस्थित गराउँदै छ।

परिसर‍का एसपी अपिलराज बोहराका अनुसार राज्य विरूद्धको कसुर र संगठित अपराध गरेको कसुरमा पक्राउ परेका २५ जनालाई प्रहरीले आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने भएको हो। ‘२५ जनालाई आज थप म्याद माग गर्दैछौं,’ उनले भने। अनुसन्धानकै चरणमा रहेकाले थप म्याद माग गर्न लागिएको उनले बताए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले तीनकुने घटनामा पक्राउ परेका केहीको मात्रै बयान लिने काम बाँकी छ।

‘लगभग सबैको बयान लिने काम सकिइसकेको छ। आपराधिक उपद्रवमा पक्राउ परेका केही व्यक्तिहरूको बयान लिन बाँकी छ,’ उनले भने। यस्तै ’राजसंस्था पुनस्थापनाको संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ’जनकमान्डर’ दुर्गा प्रसाईंको भने बयान सकिसकेको छैन। उनीमाथि राजद्रोह र ज्यान मार्ने उद्योग कसुरको आरोपमा बयान लिइसकेको छ।

तर अन्य कसुरमा पनि बयान लिन बाँकी रहेको न्यायाधिवक्ता निरौलाले बताए। प्रहरीले यस घटनामा ५६ जनालाई हिरासतमा राखेको छ। प्रहरीले ३३ जनालाई हाजिर जमानीमा राखेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार