Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

जहाँ आठ हल गोरु लापत्ता भएका थिए, त्यहीँ गाडी पनि हरायो


बोलेरो गाडी भासिएकै ठाउँमा लापत्ता भएका थिए चर्दै गरेका आठ हल गोरु, तीनदिन बित्दासमेत गाडी भेटाउन सकिएन । यतिबेला मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ जोडिएको गैरीगाउँको भित्री कच्ची सडकमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ ।

गुडिरहेको बोलेरो गाडी शुक्रबार दिउँसो भासिएको हो । उक्त गाडी अहिलेसम्म पनि भेटिएको छैन । अग्रज स्थानियहरुका अनुसार गाडी भासिएको ठाउँमा लामो समय अगाडी आठ हल गोरु चर्दाचर्दै लापता भएका थिए । अहिले घाँस काट्ने मेसिन बोकेको स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको सिंगल क्याब पिकअप गाडी भासिएको हो ।

शुक्रबार दिउँसो भासिएको गाडी शुक्रबार शनिबार दिनभर स्थानिय र नेपाल प्रहरीले खोजेका थिए । फेला पार्न नसकिएपछि आज आइतबार सशस्त्र प्रहरीको टोलीलाई बोलाएर गाडी खोज्ने काम भइरहेको छ ।

गाडी धसिँदै जान थालेपछि सहचालक र चालकले गाडीलाई पछाडिबाट डोरीले बाँधेर तान्ने प्रयास गरे । तर सकेनन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा उनीहरुले टेलिफोन गरेर गाडी धसिएको जानकारी कसैलाई गराउँछन् ।

अर्कोतर्फबाट बोल्ने व्यक्तिले ट्याक्टर लगाएर तान्न सुझाव दिन्छन् । तर उनले गाडी पुरै जमिनमुनि डुबिसेकेकाले ट्याक्टर लगाएर तान्न सम्भव नहुने बताउँछन् । गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ

गाडी भासिएको सडकको दायाँ–बायाँ माछापालन पोखरी छन् । त्यो सडककै छेउँमा पानी तान्ने बोरिङ गाडिएको छ । उक्त बोरिङ गाडी धनी हरिराम राईले माछापोखरीमा पानी हाल्ने प्रयोजनका लागि गाडेका थिए । त्यही बोरिङसँगै सडक भासिएर गाडी हराएको हो । स्थानीयहरुका अनुसार अहिले बाटो बनेको र दायाँबायाँ पोखरी बनेको ठाउँ पहिले दलदल थियो ।

त्यो दलदलमा स्थानीयका हल गोरु हराउने घटना पनि भएका थिए । जमिन भासिएको ठाउँमा निकै पहिले ७–८ हल गोरु धसिएको त्यहाँका अग्रज स्थानियहरु बताउँछन् । केही वर्षयता भने जमिन सुक्खा भएर साह्रो भएको थियो ।

त्यसैले त्यहाँ बाटो बनाइएको थियो । माटो सुकेर सुख्खा भएका कारण बाटो बनाइएको र अहिले फेरि दलदल भएर गाडी भासिएको स्थानियहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार