
ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा भयानक कार दुर्घटना भएको छ । कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ । पोलमा ठोक्किएको कारमा सवार तीन जना गम्भिर घाइते भएका छन् ।
घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने रहेका प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशालको अवस्था चिन्ताजनक रहेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।
ललितपुर प्रहरीका अनुसार राति ११ बजेर १० मिनेट जाँदा ललितपुर महानगरपालिका –२८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो ।
कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणका प्राविधिक समेतको सहयोगमा पोल हटाउने प्रयास जारी छ ।