
चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका –८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगर भएको वडाध्यक्ष नवीन तामाङले जनाएका छन् ।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । पारिवारीक स्रोतका अनुसार साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका थिए । खोज्न जाँदा वनमै चट्याङ लागेर ढलेको अवस्थामा भेटिएका हुन् ।
घटनाको थप अनुसन्धान हुने इलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
चट्याङ विपरीतबाट आएको बादल आपसमा ठोक्किँदा त्यसको अणुहरूबीच हुने आकर्षण, विकर्षण र घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ्ग एवं शक्ति हो । यो अचानक हुने विद्युतीय विस्फोटन हो । चट्याङले विद्युतीय लहर उत्पन्न गराउँछ । यसबाट जोगिनका लागि सावधानी अपनाउनुपर्दछ ।
१. घरभित्रको विद्युतीय उपकरणको स्वीच अफ गर्ने। टिभी, कम्प्युटर आदिको तार छोएर नबस्ने । साथै, धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नुहुँदैन ।
२. भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ । झ्याल–ढोकाको छेउमा नबस्ने ।
३. चट्याङ परिरहेको बेलवा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । हात धुने, नुहाउने जस्ता काम नगरौँ ।
४. खोला, पोखरी आदिमा नबस्ने ।
५. अग्लो एवं खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्ने ।
६. यदि तपाईं घरबाहिर हुनुहुन्छ भने होचो स्थानमा बस्नु उपयुक्त हुन्छ ।
७. मोटरसाइकल, साइकल आदि चलाइरहेको अवस्थामा पनि चट्याङ पर्ने सम्भावना हुन्छ ।
८. धातुको पाइप, पर्खाल, रूख आदिको छहारीमा नबस्ने ।
यदि चट्याङले घाइते भएको अवस्थामा उसलाई तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ । श्वासप्रश्वास वा धड्कन रोृकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ । चट्याङले पोलेको, नसाहरूमा क्षति पुगेको छ, हात टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै स्वस्थ्य चौकी पु¥याउनुपर्छ ।