केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । सोमबार राति भाडामा बस्ने एक युवतीको कोठामा गएका ललितपुर इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, गए राति नै उपचारका लागि किस्ट अस्पताल लगिएकामा चिकित्सकले आज बिहान ७ः३० बजे अधिकारीलाई मृत घोषणा गरेका हुन् ।
घटनाबारे आज बिहानमात्रै थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक सोधपुछबाट युवती काभ्रेको भएको खुलेको छ । उनको उमेर २२ वर्ष हो । राति अचानक बेहोस भएपछि युवतीले नै उनलाई अस्पताल पु¥याएकी थिइन् ।
प्रहरीका अनुसार अधिकारी र युवतीबिच केहि समय अगाडी मात्रै चिनजान भएको र बेला बेला आउजाउ गरिरहन्थे । सोमबार राती भने उनी एक्कासी बेहोस् भएका थिए ।
अधिकारी कसरी वेहोस् भए, घटना के भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको र पास्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने प्रहरीले बताएको छ ।






