काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको महिलाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
‘ग्यास लिक हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । मृतकको शव फेलापरेको र सनाखत हुन बाँकी रहेको जनाइएको छ । अहिले आगो नियन्त्रणमा आएको छ ।
दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो ।
सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।
दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो ।






