Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

नेतृत्व चयनका लागि नमूना मतदान


महालक्ष्मी नगरपालिका वडा नं ९ ढुंगेन सिस्नेरीमा रहेको श्री सिस्नेरी माध्यमिक विद्यालयमा पुग्दा विद्यार्थीहरु निर्वाचनको प्रचारप्रसारमा व्यस्त थिए । कोही मतदानको लागि लाईनबद्ध भएर बस्न थालिसकेका थिए । शिक्षक, शिक्षिका र विद्यार्थी निक्कै खुसी थिए । यसो हेर्दा पढ्न आएका विद्यार्थी नपढेर के गरिरहेका भन्ने चिन्ता लाग्यो ।

विद्यालयका प्रधानाध्यापकलाई सोध्दा विद्यालयमा स्कूल तथा सदन नेतृत्व चयनका लागि नमूना मतदान आयोजना गरिएको जानकारि दिनुभयो । कक्षा ४ देखि १० सम्मका विद्यार्थी विद्यालयको विद्यार्थी नेतृत्व चयनका लागि नमूना मतदानको विभिन्न गतिविधीमा संलग्न भैरहेका थिए । विद्यालयको स्कूल क्याप्टेन, सह क्याप्टेन लगायतको नेतृत्व चयनमा सबै जुटिरहेका थिए ।

कक्षा १० का विद्यार्थी अर्पन चौधरी भन्नु हुन्छ आफुहरुको नेतृत्व विकासको लागि र चुनावको व्यवहारिक ज्ञान दिनका लागि उत्सव कै रुपमा कार्यक्रम गरेकोमा खुसी लागेको छ । स्कूल क्याप्टेनमा उम्मेदवारी दिनुभएका विद्यार्थी पटक ऐरी निर्वाचनमा उम्मेदवारी दर्ता, मतदान र मतगणनाले निक्कै रमाईलो भएको कितावमा भएको पाठलाई व्यवहारिक रुपमै सिक्न पाएकोमा खुसी लागेको बताउनु हुन्छ । बिद्यार्थी सितल चौधरीले विद्यालयले बेला बेलामा यस्ता नमुना अभ्यासका कार्यक्रम गरेर आफुहरुलाई उत्प्रेरित गर्ने कार्य गरेको बताउनु हुन्छ ।

निर्वाचन भनेको के हो र कसरि गरिन्छ भन्ने कितावको विषयलाई विद्यार्थीले सजिलै जान्ने गरेर अभ्यास गराईएको थियो । परम्परागत शैलीको शिक्षण सिकाइलाई सहभागितामूलक र प्रयोगात्मक शिक्षण सिकाइसहितको जीवन उपयोगी शिक्षामा रूपान्तरण गर्नको लागि यस बिद्यालयले निक्कै प्रयत्न गरिरहेको विद्यार्थी तथा अबिभाबकहरुले बताउनुभयो ।

विद्यालयहरूमा मतदान तथा निर्वाचनको अभ्यास गरिनु सामाजिक अध्ययन विषयको व्यवहारिक पक्षलाई सशक्त बनाउने राम्र प्रयास हो, यसलाई अन्य विद्यालयले पनि गर्नु आवस्यक छ । यस्ता अभ्यासहरूले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया, नागरिक दायित्व, र सामाजिक व्यवहार बुझ्न सहयोग पुग्दछ, जसले उनीहरूलाई जिम्मेवार, सचेत, र लोकतन्त्रप्रति आस्थावान नागरिक बनाउने दिशामा टेवा पुग्छ र भविश्यमा असल नेता समेत बनाउन सहयोग पुग्छ ।

नमुना निर्वाचन कार्यक्रम अन्तर्गत, विद्यालयले विद्यार्थीहरूलाई उम्मेदवारी दिने, प्रचारप्रसार गर्ने, मतदान गर्ने, र मतगणना प्रक्रियामा सहभागी गराउने व्यवस्था मिलाएको थियो । यसले विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रिया र निर्वाचन प्रणालीको व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै बोल्ने र समुहमा काम गर्ने क्षमताको पनि विकास गरेको देखिन्छ ।

सामाजिक शिक्षाको व्यवहारिक पक्षलाई सशक्त बनाउन विद्यार्थीहरूलाई लक्षित गर्दै नमुना निर्वाचन कार्यक्रम सञ्चालन गरेको सिस्नेरी विद्यालयले स्काउट मार्फत पनि विभिन्न कार्यक्रम गरि विद्यार्थीको नेतृत्व तथा क्षमता विकास कार्यक्रम गरिरहेको छ । नमूना मतदानको कार्यक्रम सकिएको केहि समय पछि फेरी विद्यालयमा स्काउटको अर्को कार्यक्रम सुरु भैहाल्यो ।

द डक अफ इडिनवर्गको एड्भान्टरिएस जर्नी र स्काउटको संयुक्त आयोजनामा विद्यार्थी र शिक्षकको २ दिने क्याम्प सुरु भएको विद्यालयका शिक्षक एवं स्काउटको महालक्ष्मी नगरपालिकाको प्रमूख दामोदर आचार्यले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापकको सकृय तथा नेतृत्वदायि भूमिकाको साथै नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरे यस विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत भएकाले पनि यस विद्यालयमा यस्ता कार्यक्रम बेला बेलामा हुने गरेको पाईन्छ ।

सिस्नेरीको इच्छा, संस्कारयुक्त गुणस्तरीय शिक्षा भन्ने नाराका साथ सञ्चालित विद्यालयले अंग्रेजी माध्ययमबाटै पठनपाठन गरि अन्य नीजि विद्यालय भन्दा आफुलाई अब्बल सावित गर्दै आएको छ । वदलिदो प्रविधीसँगै विद्यालयले पनि शिकाई पद्धतीलाई प्रविधीमैत्री र व्यावहारिक बनाउदै गएको छ । अन्य विद्यालयले पनि यस्ता अतिरिक्त कृयाकलापलाई जोड दिनु आवस्यक छ ।


प्रतिक्रिया दिनुहोस !
विचार