Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

ब्रेक फेल भएको बस उपमेयरको घरमा छिर्दा तीन जनाको मृत्यु


ब्रेक फेल भएर मकवानपुरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मकवानपुर थाहा नगरपालिका–३ विद्युत प्राधिकरण स्थित त्रिभुवन राजपथको गोपाली गाउँबाट थानाबजार तर्फ गैरहेको बा–३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर थाहा नगरपालिकाको उपमेयर भरत गोपालीको घरभित्र छिर्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको मकवानपुर प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएको बसले सडकमा हिडिरहेका ६ जनालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

उक्त घटनामा बाराको जितपुर सिमरा घर भएका अन्दाजी ३२ वर्षीय छेयाङ दोर्ज लामा र बाराको कोल्वी घर भइ झम्केस्वरी माविमै पढाउने शिक्षक अन्दाजी ३० वर्षीय रामगुलाम चौधरी घाइते भएका छन् । घाइते दुवैको पालुङमा उपचार भइरहेको छ र कमलेश कुमार साहको काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ठक्कर दिने बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

बसले थाहानगरका उप प्रमुख भरत गोपालीको घरमा समेत क्षति पुगेको छ । बस पैदलयात्रीलाई ठक्कर दिएर घरको पर्खालमा ठोक्किन पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार