Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

बुटवल घटनाः डिभोर्सपछि पनि पूर्वपतिसँग सम्बन्ध, विवादपछि आवेशमा हत्या


बुटवलमा पूर्व श्रीमती र दुई बालिकाको हत्या गरेका सुजन कोइराला दाजुको हत्या अभियोगमा ९ वर्ष कैद भुक्तान गरी २०७८ सालमा कैद माफी पाएर छुटेका थिए । पाल्पाको बर्तुङ घर भएकी दीपा र प्रभास घर भएका सुजनले २०६९ साल असोजमा प्रेम विवाह गरेका थिए। त्यति बेला सुजन २३ वर्षका र दीपा २२ वर्षकी थिइन् । विवाह पश्चात उनीहरु सुजनका दुइ दाजुहरुसँग बुटवलमा बस्दै आएका थिए ।

सोही क्रममा आर्थिक विषयमा सुजनको २५ वर्षीय दाजु सुदिपसँग विवाद भएपछि सुजनले दाइको हत्या गरेर शव टुक्रा टुक्रा पारेर बोरामा हाली पाल्पा पु¥याएर केराबारीमा फालेका थिए । सोहि आरोपमा सुजन विवाह गरेको तीन महिनामै जेल चलान भएका थिए । आफैंले हत्या गरेका दाइ सम्पर्कबिहिन भएको भन्दै उनले
खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए।

सुजनको निवेदनपछि सुदिपको खोजी सुरू गरेको प्रहरीले उनको शवलाई टुक्रा टुक्रा बनाएर बोरामा हाली पाल्पाको केराबारीमा फालेको अवस्थामा फेला पारेको थियो। अनुसन्धान गर्दै जाँदा सुजनले नै दाजुको हत्या गरेको पुष्टि भएपछि पुस २७ गते उनी कारागार चलान भएका थिए।

सुजन दाजुको हत्या अभियोगमा कारागार चलान भएपछि दीपाले सुजनसँग सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि बढाएकी थिइन्। प्रहरीका अनुसार सुजन कारागारमा रहेकै बखत २०७३ सालमा उनीहरूबीच सम्बन्ध विच्छेद भएको थियो।

सुजनसँग सम्बन्ध विच्छेद गरेकी दीपाले सोही वर्ष नवलपरासीको कावासोतीका शङ्कर ढकालसँग विवाह गरेकी थिइन्। शंकरले पनि पूर्वपत्नीसँग सम्बन्ध विच्छेद गरी दीपासँग विवाह गरेका थिए। शंकर एक वर्ष अगाडी वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । दिपा तानसेन नगरपालिका वडा नं. ७ कुनसरेस्थित आधारभूत स्वास्थ्य केन्द्रमा करारमा कार्यरत थिइन्। उनले दुई छोरीहरुलाइै आफैसँग राखेर पढाएकी थिइन् ।

शंकर विदेश गएदेखि नै दिपा र पुर्व श्रीमान सुजनबिच नियमित फोन सम्पर्क र भेटघाट भइरहन्थ्यो । छिमेकीहरुका अनुसार दिपा बेला बेला मुखमा मास्क लगाएर सुजनको घरमा आइरहन्थिन् । मंगलबार भने दिपा सुजनको घरमा आएको कुरा छिमेकीहरुलाई थाहा थिएन ।

बुधवार बुटवलमा दीपाको भान्जीको विवाह हुँदै थियो। सोही विवाहको लागि उनी मङ्गलवार नै पाल्पाबाट बुटवल आएकी थिइन्। कावासोतीमा रहेका उनका आफन्तहरू पनि मंगलबारदेखि नै बुटवलमा रहेका थिए। दीपाले आफू मंगलबार नै बुटवल आएको कुरा माइतीतर्फ र घरतर्फका कसैलाई पनि जानकारी गराएकी थिइनन्।

विवाहको लागि बुटवल आएकी दीपा पूर्वपतिको घरमा कसरी पुगिन् भन्नेमा उनको परिवार अनविज्ञ छ । परिवारका सदस्यहरुले शंकरलाई यस घटनाबारे जानकारी गराउँन सकिरहेका छैनन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाका अनुसार हत्या योजनाबद्ध नभइ माया–प्रेमका विषयमा विवाद हुँदा आवेशमा आएर भएको देखिन्छ ।

हत्या आरोपमा सुजन प्रहरी नियन्त्रणमा छन्। अहिले इलाका प्रहरी कार्यालय बुटवलले घटनाको विस्तृत अनुसन्धान थालेको जनाएको छ । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार कोइरालाले सोधपुछका क्रममा पटक–पटक हत्या आफूले आवेशमा गरेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार