Logo
१४ कार्तिक २०८३, शनिबार
|  Sat Oct 31 2026

तिहारको तेस्रो दिन: आज धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै


यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन, आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। धनधान्य, सौभाग्य आदि प्राप्तिका लागि कार्तिक कृष्णपक्ष औंसीको दिन लक्ष्मीको पूजा गरिन्छ। परा, अपरा गरी दुई प्रकारका विद्या प्राप्ति गर्नुलाई पनि लक्ष्मीपूजा मानिन्छ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंशीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने चलन छ। कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणासमेत दिने चलन छ। आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि समेत रहेको छ। आज साँझ युवतीहरू समूह बनाइ घर(घरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर(घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ। भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। लक्ष्मी पूजाका अवसरमा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन छ। केही स्थानमा भने भोलि मात्र गाईको पूजा गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार