Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

बुवालाई मारेर निस्किँदै गर्दा छिमेकीले देखेपछि छिमेकीको पनि हत्या


पश्चिम नवलपरासीको सुनवल नगरपालिका २ अमरैया शोकमा डुबेको छ । शुक्रबार बिहान २७ वर्षीय हेमराज थारुले आफ्नै बुवा ५० वर्षीय जयराम थारू र छिमेकी ७० वर्षीय नाथु धरिकारको दर्दनाक हत्या गरेपछि शोकमा डुबेको हो ।

हेमराजले दुवैजनालाई एउटै कोदालोले हानेर हत्या गरेका हुन् । बुवा र छिमेकीको हत्या आरोपमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले हेमराजलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पहिला कोदालोले हानेर ढलाएपछि काटेर उनले टाउको अलग गराएका थिए ।

छिमेकीहरुका अनुसार हेमराजले बुवासँग पटक पटक बिहे नगराएको भन्दै विवाद गर्दै आएका थिए । जयरामले छोराले बारम्बार बिहे गराइदिएन भनेर आफूसँग झगडा गर्ने गरेको कुरा केहि समय अगाडी छिमेकीहरुसँग भनेका थिए ।

प्रहरीले घटनास्थलमा कोदालो बरामद गरेको छ भने हत्या किन र कसरी भयो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान जारी रहेको जनाएको छ। स्थानीय बासिन्दा घटनाबाट स्तब्ध छन् भने गाउँमा तनाव र त्रासको अवस्था छ।

मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार हेमराजले केही समयअघि मानसिक समस्या भएकोले उपचार गराएपछि ठीक भएको थियो । तर आजको घटना मानसिक समस्या नै हो या होइन भन्ने बारे पनि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार