Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाइनु संसदको अपमान होः शिवाकोटी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्था सहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई “संसदको अपमान” भनेका छन्।

मङ्गलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धारणा राख्दै शिवाकोटीले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको आरोप लगाए। “लोकतान्त्रिक विधि र संसदप्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ,” उनले लेखेका छन्।

शिवाकोटीले विधेयकको मर्म विपरीत छलछाम गरी संसदलाई गुमराहमा राखिएको भन्दै यस्तो कार्य नागरिकको विश्वासमाथिको धोका भएको टिप्पणी गरेका छन्। ‘संसदलाई बुख्याचा बनाउने यस्ता चलखेल अब सह्य छैन,’ भन्दै उनले तत्काल संसदीय छानबिनको माग गरेका छन्।

उनले संसदमा पारित विधेयकमा कसको निर्देशनमा, कुन प्रक्रियाबाट र किन छेडखानी भयो भन्नेबारे छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरेका छन्। ‘संसदीय प्रणालीको रक्षा गर्न आजैबाट संसदको निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोकिनुपर्छ,’ शिवाकोटीले भनेका छन्।

निजामती सेवा ऐनमा रहेको कुलिङ पिरियड हटाइएकोप्रति व्यापक विरोध भइरहेका बेला कांग्रेस नेताको यो धारणा सार्वजनिक रूपमा आएको हो।


प्रतिक्रिया दिनुहोस !
विचार