Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

१५ लाख धरौटी बुझाउन नसकेपछि युनुश अन्सारी कारागार चलान


सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका युनुस अन्सारीले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली भारतीय नोट प्रकरणमा कैद भुक्तान गरिसकेका युनुस अन्सारीलाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न सिआइबीले नियन्त्रणमा लिएको थियो।

जेलबाट छुट्नेबित्तिकै केन्द्रीय अनुसन्धान ब्युरोले पक्रेको भन्दै अन्सारी बन्दी प्रत्यक्षीकरणको रिट लिएर उच्च अदालत पाटन पुगेका थिए।

उच्च अदालतका न्यायाधीशहरू ऋषि राजभण्डारी र कविप्रसाद न्यौपानेको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको थियो।

२०७६ सालमा युनुस अन्सारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका थिए। कतारबाट तीन जना पाकिस्तानी नागरिकलाई लिन जाँदा अन्सारी पक्राउ परेका थिए।

उनीहरूले दुई ब्रिफकेसभरी नक्कली भारू बोकेका थिए। युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।

पछि छुटेर फेरि उनी त्यही काम लागेको सूचना पाएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो।

५ वर्षअघि अन्सारी ललितपुरको नख्खिपोटबाट समातिएका थिए। उनलाई कारागारभित्रै गोली हानिएको थियो। उनी त्यस बेला सामान्य घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार