Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

कागेश्वरी र रातो बङ्ला फाउण्डेसनबीच बाल सिकाइ कार्यक्रमका लागि सम्झौता


शिक्षा प्रणालीमा व्यवहारिकता, समावेशीता र गुणस्तर अभिवृद्धि गर्ने दीर्घकालीन उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिका र रातो बङ्ला फाउण्डेसनबीच पाँच वर्षे सहकार्यमा सार्थक बाल सिकाइ कार्यक्रम सञ्चालन गर्ने औपचारिक सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा नगरप्रमुख उपेन्द्र कार्की , रातो बङ्ला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दिक्षित तथा टिम लिड एलिना रञ्जितले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नगरभित्रका १५ वटा सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बालविकास कक्षालाई बालमैत्री, व्यवहारिक र सृजनशील बनाउँदै शिक्षण प्रणालीमा रूपान्तरण गरिने उल्लेख छ । । कार्यक्रमको कुल लागतमध्ये ६० प्रतिशत कागेश्वरी मनोहरा नगरपालिकाले र ४० प्रतिशत रातो बङ्ला फाउण्डेसनले व्यहोर्ने सहमति भएको छ। बालबालिकाको मनोविज्ञान, आवश्यकता र रुचिअनुसार सिकाइ हुने वातावरण निर्माण गर्दै शिक्षण कार्यलाई सरल, प्रभावकारी र सृजनात्मक बनाउने लक्ष्य राखिएको छ।

नगरप्रमुख कार्कीले यो कार्यक्रमलाई केवल शैक्षिक सुधारको परियोजना नभई सामाजिक रूपान्तरणको प्रमुख आधारका रूपमा लिएका छन्। उनले विगत तीन वर्षदेखि रातो बङ्लासँगको सहकार्यबाट देखिएको सकारात्मक नतिजालाई उदाहरण दिँदै भने, “हाम्रा सामुदायिक विद्यालयका शिक्षकहरूमा सोचको स्तरमै परिवर्तन आएको छ। अब केवल किताबी ज्ञानमा सीमित रहने शिक्षा होइन, बालबालिकाको चेतना, क्षमता र चरित्र विकासमा केन्द्रित शिक्षाको खाँचो छ। यही सोचअनुसार हामी यो कार्यक्रमलाई विस्तार गरेका हौं।”

उहाँले थप भने, “शिक्षा नै दीर्घकालीन विकासको मेरुदण्ड हो। यसका लागि हामीले नवप्रविधि, व्यवहारिकता र सीपमूलक शिक्षामा विशेष जोड दिइरहेका छौं। बालबालिका भविष्यका कर्णधार हुन्, तिनको आधार बलियो बनाउन स्थानीय सरकार पूर्ण प्रतिबद्ध छ।” नगरप्रमुख कार्कीको नेतृत्वमा नगरपालिकाले विगत केही वर्षयता शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा प्रभावशाली कार्य गर्दै आएको छ, जसमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ।

रातो बङ्ला फाउण्डेसन सन् २०५९ सालमा संस्था दर्ता ऐन २०३४ अनुसार ललितपुरमा स्थापित मुनाफारहित गैरसरकारी संस्था हो, जसले स्थापनाकालदेखि नै शिक्षक तालिम, शैक्षिक सामग्री सहयोग, विद्यालय व्यवस्थापन, बालबालिका तथा विद्यालय सुरक्षा, अभिभावक शिक्षा लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको छ। यस फाउण्डेसनले सन् २०१२ मा UNESCO द्वारा प्रदान गरिने Hamdan Bin Rashid Al-Maktoum Award for Outstanding Practices in Enhancing the Effectiveness of Teachers समेत प्राप्त गरिसकेको छ।

यस सहकार्यले कागेश्वरी मनोहरा नगरपालिकामा बालमैत्री र व्यवहारिक शिक्षाको बलियो आधार तयार गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार