आज नेपाली इतिहासकै कालो दिन । आसार २८ सिमलताल दुर्घटना भएको आज एक वर्ष पुगेको छ । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्। न सास भेटियो न त लाश । ३९ जना अझै बेपत्ता छन् ।
गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए। तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन्।
दुवै बस अहिलेसम्म भेटिएको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए। तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन्। सो बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए। तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन्।
त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए। तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । तीमध्ये भारतीय चार जना थिए। तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन्। दुर्घटना भएको लामो समयसम्म खोजि गरिएको थियो । खोजिका लागि विदेशबाटसमेत गोताखोर मगाइएको थियोे ।
त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशूली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो।





