Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

विद्या भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गर्नु भइसक्योः कर्ण थापा


नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा च्यासलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

हिजो मात्रै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरणको विषय पेन्डिङमा रहेको बताएका थिए । तर, हिजो र अस्ति दुई दिन बसेको बैठकमा सदस्यताबारे कुनै निर्णय नभएको बताउँदै अघिल्लो वर्षको सदस्यता नवीकरण एक वर्ष अघि नै भएको र यो वर्षको पनि नवीकरण भइसकेको उनले दाबी गरे ।

‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको एक वर्षअघि नै गर्नुभएको हो र यो वर्षको पनि भइसकेको छ,’ थापाले सञ्चारकर्मीसँग भने । उनले शुक्रबार र शनिबार बसेको पार्टी बैठकमा सदस्यताबारे निर्णय नभएको पनि बताए ।

‘कसले के भन्नुभयो थाहा छैन । तर, हिजो कुनै निर्णय भएको होइन । पेन्डिङमा होइन । हिजो त्यस्तो निर्णय भएको होइन,’ थापाले भने । अहिले ओली र भण्डारीबीच वार्ता जारी छ । थापाका अनुसार, दुवै जना एक्लाएक्लै छलफलमा छन् । सचिवालय र पोलिटब्युरो बैठकमा आएको सुझाव अनुसार नै उनीहरूबीच वार्ता चलिरहेको उनले बताए ।

‘उहाँहरूले छलफल गर्नुअघि बस्यौं । दुवै जना प्रफुल्ल मुद्रामा हुनुहुन्छ । लामो सहयात्राका कुराहरू पनि गर्नुभयो । अहिले राजनीतिक वार्तामा प्रवेश गर्नुभएको छ । उहाँहरू दुई जनाबीच मात्रै छलफल भइरहेको छ,’ थापाले भने । पार्टीभित्र द्वन्द्व समाधान हुन नसक्ने अवस्थामा पुगेको जस्तो आफूलाई नलागेको पनि उनले बताए ।

उनले दुई जनाबीच कुनै कित्ताकाट नभएको पनि जिकिर गरे । ‘अहिले कुनै पनि कित्ताकाट छैन । पछि महाधिवेशनबाट को के मा उठ्ने कसरी अघि बढ्ने भन्नेबारे हुन्छ । अहिले कुनै कित्ताकाट छैन,’ थापाले भने ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार