नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले आफूहरूलाई लक्षित गर्दै व्यक्त गरेको धारणाको जवाफ राप्रपा सांसद दीपकबहादुर सिंहले मंगलबार प्रतिनिधिसभा बैठकमा फर्काएका छन् ।
सोमबारको बैठकमा कांग्रेस प्रमुख सचेतक घिमिरेले रास्वपा र राप्रपाले गोयबल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका थिए । ७० दिनदेखि रास्वपा र राप्रपाले गरिरहेको यो कार्य बन्द गरिनुपर्ने बताउँदै उनीहरूको यो कदम बन्द नभए सम्पूर्ण सांसदहरू उनीहरूको क्रियाकलापविरुद्ध उत्रिन पर्ने हुनसक्ने चेतावनी दिएका थिए ।
उक्त अभिव्यक्तिको जवाफ सिंहले मंगलबार संसद् बैठकमै दिएका हुन् । सिंहले भने, ‘हिजोमात्रै यस सदनमा भिजिट भिसाको नाममा बहिस्कार गर्नेहरूलाई हामी सभासद्हरूले प्रतिवादमा उत्रिनुपर्छ भन्ने कांग्रेसका प्रमुख सचेतकहरूले भनिसक्नुभएको छ । के सरकारको सुशासन भएको यही हो । भिजिट भिसामा दैनिक ५० लाख असुली धन्दा गरेर हाम्रो छोराछोरीलाई विदेश पठाउने, ती विदेशमा गएका बिचल्ली हुँदा कुनै पनि वास्ता नगर्ने दिनको लागि गणतन्त्र ल्याएको हो ।’
घिमिरेले बैठकमा भनेका थिए, ‘रास्वपा र राप्रपाले गोयबल्स शैलीमा झुटो कुरा गरेर जनतामा भ्रम छर्ने काम बन्द गर्नुपर्छ । बन्द नगरिए संसद्को गरिमा रहने छैन । सम्पूर्ण सांसदहरू यसविरुद्ध उत्रिन पर्ने अवस्था आउन सक्छ, यसबारे ध्यान दिनुहोला ।’
सिंहले आफूहरूले उठाएका माग सम्बोधन गर्न सरकार र सभामुखले चासो नदिएको आरोपसमेत लगाए ।





