Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

१ लाख ४२ हजार ८५३ विद्यार्थीले एसइई मौका परीक्षा दिँदै, तोकियो ४६९ परीक्षा केन्द्र


माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षामा १ लाख ४२ हजार ८ सय ५३ जना विद्यार्थीहरू सहभागी हुने भएका छन्।

यही साउन २९ गते(बिहीवार)बाट सञ्चालन हुने परीक्षाका लागि ती विद्यार्थीले परीक्षा आवेदन फारम भरेका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।

२०८१ साल चैत ७ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि यो मौका परीक्षा हो। ‘यो मौका परीक्षामा एक लाख ४२ हजार ८५३ जना विद्यार्थीहरू सहभागी हुने छन्’, परीक्षा नियन्त्रक अधिकारीले भने।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो। उक्त परीक्षामा एसइई परीक्षामा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयबाट ५ लाख १४ हजार ७१ जनाले फाराम भरेका थिए। सबै विद्यार्थी परीक्षामा भने सहभागी भएनन्।

बोर्डले फाराम भरेका नियमित र ग्रेडवृद्धि सबै गरी करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी नभएका जनाएको छ। परीक्षा बोर्डले यो परीक्षाको नतिजा गत असार १३ गते सार्वजनिक गर्‍यो। ०८१ को एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भए।​

नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३‍.६ जीपीएदेखि ४ जीपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जीपीएदेखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना र २.८ जीपीएदेखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी छन्।

त्यसैगरी २.४ जीपीएदेखि २.८ जीपीएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जीपीए ल्याउने आठजना परीक्षार्थी छन्।


प्रतिक्रिया दिनुहोस !
विचार