रास्वपा सभापति रवि लामिछानेलाई अबको केहि बेरपछि रुपन्देही कारागारबाट सरुवा गरेर काठमाडौं ल्याइँने भएको छ ।बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौं सार्न तयार भएको हो । आज दिउसो ३.१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं लैजान लागिएको कारागार विभाग श्रोतले पुष्टि गरेको छ ।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार उनलाई ल्याउन लागिएको होे । ‘उहाँको मन्जुरीनामा नै लिखित रुपमा नक्खु कारागार भनेर माग्नुभएको थियो । त्यही अनुसार निर्णय गरेर पठाएका हौं,’ शर्माले भने ।
शर्मा गृह मन्त्रालयबाट सरुवा भएर कारागार विभागको जिम्मेवारी सम्हाल्न पुगेका हुन् । यसअघि कारागार विभागको महानिर्देशकमा नारायण प्रसाद भट्टराई थिए । उनलाई निर्वाचन आयोग सरुवा गरेर शर्मालाई पठाइएको थियो ।
गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए ।





