Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

नेरीक एकेडेमीको आयोजनाः मौलिक तीज नृत्य प्रतियोगिताको बिजेता बन्यो गोल्डेन पिक(तस्बिरसहित)


उपत्यकाव्यापी अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता २०८२ मा गोल्डेन पिक स्कुल विजेता बन्न सफल भएको छ । शनिबार काठमाडौँको शंखमुलस्थित नेरीक एकेडेमीले आयोजनाको गरेका उक्त प्रतियोगितामा गोल्डेन पिक स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

नेपाल मनोरञ्जन व्यवसायी प्रतिष्ठान र नेरीक एकेडेमीको सहकार्यमा आयोजित अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगितामा उपत्यकाका २६ विद्यालयहरुले सहभागिता जनाएका थिए । विद्यार्थीहरूको सांगीतिक तथा सांस्कृतिक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा सहभागी समूहहरूले तीज विशेष गीतमा आधारित अधिकतम पाँच मिनेटभित्रको नृत्य प्रस्तुत गरेका थिए भने उत्कृष्ट प्रस्तुति गर्ने समूहलाई नगद, ट्रफी, प्रमाणपत्रका साथै मेडलसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार गोल्डेन पिक स्कुलले जित्न सफल भएको थियो भने द्वितीय पुरस्कार कस्मिक इन्टरनेशनल एकेडेमी र तृतीय पुरस्कार एआइए स्कुलले हात पारेका थिए । त्यस्तै, एन्जल लर्ड एकेडेमी, बेदव्यास बोर्डिङ स्कुल, काठमाडौं भ्याली स्कुल, न्यू नलेज स्कुल, नविन ज्योति स्कुल, नेसनल मोडल स्कुल र नेक्सस स्कुल उत्कृष्ट १० मा पर्न सफल भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट पाँच विद्यालय समूहलाई नगद पुरस्कारसहित ट्रफि, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । जसअन्तर्गत प्रथम स्थान प्राप्त गोल्डेन पिक स्कुलले २० हजार रुपैयाँ, द्वितीय स्थान प्राप्त कस्मिक इन्टरनेशनल एकेडेमीले १५ हजार रुपैयाँ, तृतीय स्थान प्राप्त एआइए स्कुलले १० हजार रुपैयाँ तथा दुई सान्त्वना समूहले जनही ५ हजार रुपैयाँसहित सम्मान पाए । यस्तै उत्कृष्ट १० विद्यालय समूहलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि, तथा अतिथिहरुलाई पनि खादा र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विद्यार्थीहरूको सिर्जनशीलता र सांस्कृतिक चासोलाई प्रशंसा गर्दै यस्ता प्रतियोगिताहरूले नयाँ पुस्तामा संस्कृतिप्रतिको लगाव बढाउने मात्र होइन, नेपालीपनको पहिचानलाई पनि बलियो बनाउन सहयोग गर्ने जिकिर गरिन् ।

यस्तै आयोजक नेरीक एकेडेमीका प्रिन्सिपल मिलन कँडेलका अनुसार यस प्रतियोगितामार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने मात्र नभएर नेपाली संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा पनि सन्देश दिन चाहेका बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार