Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपानेले लिइन् शपथ


नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराएका हुन् ।

समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् । यसअघिका सभापति रामहरि खतिवडा कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।

न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद् हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् ।

न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । २०७० सालको कार्यकालमा न्यौपाने कांग्रेसको सचेतक भएर पनि काम गरेकी थिइन् । कांग्रेस केन्द्रीय सदस्य न्यौपानेले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !
विचार