Logo
१४ श्रावण २०८३, बिहीबार
|  Thu Jul 30 2026

निर्मल निवास पनि बदलियो


जेन्जी आन्दोलनपछि राजनीतिक दलहरुमा खास परिवर्तन देखिएको छैन । उनीहरु सुध्रिहाल्लान् भन्ने त्यस्तो संकेत पनि मिलेको छैन । तर, निर्मल निवासले भने जेन्जी आन्दोलनपछि आफू परिवर्तन भएको प्रष्ट सन्देश दिएको छ । नारायणहिटी दरबार छाडेपछि ज्ञानेन्द्र शाहले आफूलाई पूर्वराजा भन्न आनाकानी गरेका थिए । उनको सचिवालयका तर्फबाट निकालिने विज्ञप्तीमा प्रायः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव लेखिएको हुन्थ्यो । लेटरप्याडबिनाका अनगिन्ति विज्ञप्ती यसअघि उनको नामबाट निस्किएका हुन्थे । तर, पहिलोपटक ज्ञानेन्द्र शाहको नामबाट लेटरप्याडमा विज्ञप्ती निस्कियो । त्यो पनि पूर्व श्री ५ महाराजाधिराज लेखेर । यसअघि पूर्व होइन, श्री ५ महाराजाधिराज लेखिएको हुन्थ्यो । निस्किएका विज्ञप्ती हेर्दा लाग्थ्यो, देशमा राजाका रुपमा अझै ज्ञानेन्द्र शाहले शासन गरिरहेका छन् । तर, जेन्जी आन्दोलनले ज्ञानेन्द्र शाहको सोचमा पनि परिवर्तन ल्याइदियो ।

आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएको उनको विज्ञप्तीको सिरानमा निर्मलनिवास महाराजगञ्ज काठमाडौं नेपाल लेखिएको छ । यसअघि ठेगाना पनि बेनामे हुन्थ्यो । बेनामे नामको विज्ञप्तीको आधिकारिताका विषयमा प्रश्न उठ्थ्यो । तर, यसपटक पनि निर्मल निवासको विज्ञप्तीमा हस्ताक्षर भने देखिदैन । विज्ञप्तीमा हस्ताक्षर गर्ने जाँगर अझै किन चलेन त्यो भने निर्मल निवासले नै जानोस् । तर, जेन्जी आन्दोलनसँगै तुलनात्मक रुपमा निर्मल निवासको विज्ञप्ती पनि परिवर्तन भएको छ । हुन त गएको असारमा जति बेला केपी शर्मा अ‍ोली नेतृत्वको सरकार थियो । त्यो सरकारले नै पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिवलाई श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव भनेर नलेख्न चेतावनी दिएको भन्ने खबर बाहिरिएको थियो । तत्कालिन अवस्थामा पूर्वराजाका संवाद सचिवलाई प्रहरी प्रशासनले केही घन्टा यस विषयमा चेतावनीयुक्त पाठ पढाएको भन्दै समाचारहरु आएका थिए । त्यही चेतावनीयुक्त पाठको परिणाम हो या जेन्जी आन्दोलनको परिणाम त्यो भने ठ्याक्कै यही भन्न सकिएन । तर, जेन्जी आन्दोलनपछि निर्मल निवासको पहिलो विज्ञप्तीमा ज्ञानेन्द्र शाहलाई पूर्व श्री ५ महाराजाधिराज भनी गरिएको सम्बोधनले भने अहिले यसलाई जेन्जी आन्दोलनकै परिणाम भनेर कतिपयले विश्लेषण गरेका छन् ।

बडादशैंका अवसरमा निर्मल निवासले जारी गरेको विज्ञप्ती तुलनात्मक रुपमा शान्त छ । यसअघि विभिन्न समयमा जारी हुने विज्ञप्तीमा व्यवस्थाप्रति गम्भिर असन्तोष व्यक्त गरिएको हुन्थ्यो । तर, यसपटक असन्तोष भन्दा सुधारको चिन्ता देखिन्छ । त्यसो त जेन्जी आन्दोलनपछि निर्मल निवासका बारेमा अर्को एउटा खबर पनि बाहिरिएको थियो । आन्दोलन उत्कर्षमा पुगेपछि सेनाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासनसत्ता सम्हाल्नेगरी राजा बन्न प्रस्ताव गरेको थियो भन्ने खबर । उक्त प्रस्तावप्रति पूर्वराजा ज्ञानेन्द्र शाह सहमत नभएको भन्ने कुरा केही सञ्चार माध्यममा आएका थिए । राजनीतिक दलसहितको सर्वपक्षिय सहमतिमा हो भने राजा बन्छु नत्र बन्दिनँ भनेर ज्ञानेन्द्र शाहले भनेको भन्ने कुरा बाहिरिनु अनि राजाकै हैसियतमा झैं गरी विज्ञप्ती निकाल्दै आएको निर्मल निवासले एकाएक पूर्व श्री ५ महाराजाधिराज भन्नुले थप कौतुहलता सिर्जना गरेको छ । निर्मल निवास आफैंले ज्ञानेन्द्र शाहलाई पूर्व श्री ५ भनी सम्बोधन गरेपछि अब राजसंस्था पक्षधरहरुको एउटा बोलीमा पनि लगाम लागेको छ । त्यो के भने ज्ञानेन्द्र शाहलाई पूर्वराजा भन्दा राजसंस्था पक्षधरहरुले भन्ने गर्थे ः राजा पनि कहिँ पूर्व, पश्चिम, उत्तर दक्षिण भन्ने हुन्छ ? तर, अब निर्मल निवासले नै पूर्व महाराज भनिसकेपछि अब के कस्तो भन्ने विषयमा बहस गर्न नपर्ला ।


प्रतिक्रिया दिनुहोस !
विचार