Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

तनावमा सुशीला कार्की


जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना शुरु भएको छ । जेनजीका केही समुह छाडेर अधिकांश समुह कार्की नेतृत्वको सरकारप्रति सन्तुष्ट छैनन् भने विघटित प्रतिनिधिसभामा रहेका दलका नेताहरु त्यसै पनि असन्तुष्ट छन् । अकस्मात आफूहरुलाई राजनीतिक किनारा लगाइएपछि दलहरु सन्तुष्ट हुने कुरै भएन । तर, कम्तीमा पनि कार्की नेतृत्वको सरकारसँग खुसी हुनुपर्ने जेन्जीहरु नै बेखुस भएपछि कार्की नेतृत्वको सरकारकाप्रति अनेक प्रश्न उठ्न थालेका छन् ।

जेनजी आन्दोलनको बलमा गठन भएको सरकारले जेनजीकै आवाज सुन्न छाडेको भन्दै आलोचना हुन थालेको छ । जेनजीहरु सरकारको खबरदारीका लागि सडकमा उत्रन थालेका छन् भने सडकमा उत्रँदा कतिपय जेनजीहरु धमाधम पक्राउ पर्न थालेका छन् । शान्तिपूर्ण प्रदर्शनमा समेत सरकार असहिष्णु बनेको भन्दै जेनजीहरु रुष्ट बनेका हुन् ।

शुक्रबार माइतिघरमा जेनजीहरु प्रदर्शनमा उत्रिएका थिए । सरकारलाई खबरदारी गर्न प्रदर्शनमा उत्रिएका जेनजीहरु र प्रहरीबीच चर्काचर्की प¥यो भने शनिबार केही जेनजीहरु पक्राउ नै परे । कतिपय जेनजी समुहहरु यसअघि सञ्चालन भएका विभिन्न अभियानसँग हातेमालो गर्दै प्रदर्शको तयारीमा छन् । प्रत्यक्ष कार्यकारीको निर्वाचन लगाएतका माग जेनजीले उठाइरहेका छन् भने कार्की नेतृत्वको सरकारले प्रत्यक्ष कार्यकारीको माग के कारण सम्भव छैन भन्ने कुरा बुझाउन सकिरहेको छैन ।

जेनजी आन्दोलनकै बलमा बनेको सरकारले कम्तीमा पनि जेनजीहरुलाई विश्वासमा लिनुपर्ने हो तर, सरकारले जेनजीहरुलाई विश्वासमा लिन नसक्दा अब थप के होला भन्ने अन्यौलता सिर्जना भएको छ । कतिपय जेनजीहरु दुर्गा प्रसाई नेतृत्वको अभियानसँग मिलेर आन्दोलन गर्ने तयारीमा छन् भने कतिपय अलग अलग रुपमा आन्दोलनमा उत्रने तयारीमा छन् । यता सरकारले भने शान्तिपूर्ण प्रदर्शनमा समेत निर्मम बन्ने संकेत गरेको छ । यसअघि ओली नेतृत्वको सरकारले शान्तिपूर्ण प्रदर्शनप्रति देखाएको असहिष्णुताका कारण जुन प्रकारको धनजनको क्षति भयो त्यसबाट समेत कार्की नेतृत्वको सरकारले पाठ सिकेर परिस्थितीलाई सामान्यीकरण गर्नतिर लाग्नुपर्ने हो । चुनावका लागि बनेको सरकारले सबैका सबै माग सम्बोधन गर्न सक्छ भन्ने होइन । तर, जेनजीदेखि विभिन्न दलहरुलाई विश्वासमा लिन भने सक्नैपर्छ । सरकारका गृहमन्त्रीको शैली काम भन्दा कुरा धेर भने जस्तो भएको छ ।

देशमा शान्ति सुरक्षाको प्रत्याभूति उनको पहिलो दायित्व भएपनि शान्ति सुरक्षाको अवस्था मजबुत छैन । प्रहरी प्रशासनको मनोबल यसरी गिरेको छ कि आफ्नै अघिल्तिर भइरहेका आपराधिक क्रियाकलापलाई समेत देखेको नदेखे झै गरेर बस्नुपर्ने बाध्यता प्रहरीलाई छ । तर, प्रहरीको मनोबल बढाउनेतिर भन्दा पनि गृहमन्त्रीको ध्यान सस्तो लोकप्रियतातिर देखिन्छ । केहीदिनअघि पूर्व उर्जामन्त्री भागेको भन्ने गलत हल्ला अरुले नै स्वयं गृहमन्त्रीले नै फैलाए । ६ महिनाभित्र चुनाव गराउँने म्याण्डेट सहित बनेको सरकारको ध्यान चुनावको माहोल बनाउनतिर हुनुपर्ने हो तर, गृहमन्त्रीदेखि लिएर अन्य मन्त्रीहरु चुनावको माहोल बनाउ होइन कि सञ्चारमाध्यमलाई बिकाउ हेडलाइन दिनमा व्यस्त छन् । पूर्वउर्जामन्त्री भागेको भन्ने विषय होस् या अन्य । ती बिकाउ हेडलाइनका लागि बोलिएका बोली मात्रै हुन् ।

अहिलेको सरकारले सबैलाई विश्वासमा लिएर परिस्थिती सामान्यीकरण गर्दै जानुपर्ने हो । तर, चलेका होटेलदेखि विभिन्न व्यापार व्यवसाय धमाधम बन्दको खबर आइरहँदा समेत सरकार उही सामान्य अवस्थाकै सरकार झैं कछुवा गतिमा अघि बढिरहेको छ । खरायो गति अहिलेको आवश्यकता हो । तर, सरकारको गति कछुवा पाराको भएपछि अब के होला ? यो यतिबेला चिन्ताको विषय हो ।


प्रतिक्रिया दिनुहोस !
विचार