प्रहरीले गएराती दुर्गा प्रसाईँलाई उनकै निवासबाट पक्राउ गरेपछि विभिन्न प्रकारका असर देखिन थालेका छन् । २४ घन्टाभित्र उनको रिहाईको माग गर्दै पञ्जिकरण विभागको वेभसाईट ह्याक भएको छ भने प्रसाईँको सक्रियतामा खुलेको नागरिक बचाउ दलले आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
प्रसाईँलाई रिहा गर्न अल्टिमेटम दिँदै पञ्जिकरण विभागको वेभसाइट ह्याक गरिएपछि यसले सरकारी तथा नीजि कार्यालहरुमा त्रासको वातावरण सिर्जना भएको छ । गृहमन्त्रालय अन्तर्गतको पञ्जिकरण विभागको वेभसाइट आज बिहान ह्याक भएको थियो । नेपाली फर नेपाल रिसर्च रिभोलुसन रिफर्मले उक्त वेभसाईटमा एक पत्र छाड्दै प्रसाईँलाई २४ घन्टाभित्र छाड्न अल्टिमेटम दिएपछि अहिले यसले सनसनी फैलाएको छ । यता पञ्जिकरण विभाग स्रोतले भने विभागको वेभसाइट ह्याक भएपनि त्यहाँ रहेका डाटाहरु सुरक्षित रहेको जनाएको छ ।
केहीबेरअघि सम्म उक्त वेभसाइट खोल्दा त्यहाँ दुर्गा प्रसाईँलाई रिहा गर्न माग गर्दै राखिएको पत्र देखिन्थ्यो भने यो समाचार तयार पार्दाका बखतमा भने त्यस्तो देखिएको छैन । अहिले विभागले डाटा रिकभर गर्ने काम तीब्र गतिमा अघि बढाएको बुझिएको ।
प्रसाईँलाई गएराती प्रहरीले उनकै निवास भक्तपुरबाट पक्राउ गरेपछि विभिन्न असर देखिन थालेका हुन् । प्रहरीले अपहरण शैलीमा प्रसाईँर्लाइ नियन्त्रणमा लिएको भन्दै नागरिक बचाउ दलले आन्दोलन गर्ने बताइरहँदा यता काठमाडौंको सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । यसैबीच प्रसाईँलाई पक्राउ गरेर राखिएको स्थानमा उनका कानुन व्यवसायीलाई समेत भेट्न नदिइएको भन्दै बिरोध पनि भएको छ । आज बिहान प्रसाईँलाई भेट्न उनका कानुन व्यवसायीहरु उनलाई राखिएको प्रहरी परिसरमा पुगेका थिए । तर, प्रहरीले माथिको आदेश भन्दै उनीहरुलाई फर्काइदिएको थियो ।
शान्ति सुरक्षा खलल पु¥याउने गतिविधीमा प्रसाईँ संलग्न हुन लागेको सूचनाका आधारमा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको बताइरहँदा राप्रपा लगाएतका दलका नेताहरुले भने यो घटनाको विरोध गरेका छन् । देश टुक्र्याउँने अभिव्यक्ति दिएकाहरुलाई पक्राउ नगर्ने तर, प्रसाईँले देश जोगाउँन र नागरिक बचाउँन आन्दोलन गर्छु भन्दा चाहिँ पक्राउ गर्ने भन्दै सामाजिक सञ्जालमा केहीले स्टाटस समेत लेखेका छन् ।
प्रसाईँले शान्ति सुरक्षा खल्बल्याउँने अभिव्यक्ति दिएकै आधारमा उनलाई पक्राउ गरिएको हो भने उनको भन्दा कडा र आपत्तिजनक अभिव्यक्ति दिनेहरुलाई चाहिँ सरकारले के गर्छ भन्दै धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । केहीले भने प्रसाइँ पक्राउको समर्थन समेत गरेका छन् । काठमाडौंमा जारी एनपीएलका सन्दर्भमा समेत प्रसाईँले कडा अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गर्नु ठिकै भएको उनीहरुको प्रतिकृया छ । प्रसाईँलाई खुलमखुल्ला छाड्दा एनपीएलमा समेत घुसपैठ हुन सक्ने भन्दै यतिबेला सरकारले लिएको कदम अन्यथा नभएको उनीहरुको भनाई छ ।
यसैबीच प्रसाईँलाई बोलेकै आधारमा पक्राउ गरिएको भन्दै केहीले भने अब आन्दोलन अनपेक्षित हुन सक्ने भनी चिन्ता व्यक्त गरेका छन् । उनीहरुले शान्तिपूर्ण प्रदर्शन गर्न पाउँने जनताको हकमाथि धावा नबोल्न सरकारलाई चेतावनी दिएका छन् । प्रसाईँले यही ७ गतेबाट आम हड्ताल गर्ने चेतावनी दिएका थिए भने सोमबार मात्रै आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री, गृहमन्त्री लगाएतका विषयमा एउटा भिडियो तयार गरेका थिए ।
यसैबीच प्रसाइँलाई ४ दिन थुानमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अब कम्तीमा पनि ४ दिन भने प्रसाईँ थुनामै रहनेछन् ।






