दुर्गा प्रसाईको हुँकार सुन्दा लाग्छ उनीसँग हजारौं हजार समर्थक छन् । उनी एक्ला छैनन् । उनका पछाडि समर्थकहरुको ठूलो सख्ंया छ । तर, लाग्ने र वास्तविक कुरा फरक हो । प्रसाईँका पछि कति मान्छे रहेछन् र कस्ता मान्छे रहेछन् भन्ने कुरा उनी पक्राउ परेपछिका दिनलाई नियाल्दा प्रष्ट हुन्छ । उनी जब मध्यरातमा आफ्नै निवास भक्तपुरबाट पक्राउ परे । तब कतिपयलाई लागेको थियो भोलिपल्ट बिहानैबाट आन्दोलन शुरु हुन्छ । दुर्गा प्रसाईँकै सकृयतामा दर्ता भएको भनिएको पार्टीका अध्यक्षले आन्दोलनको चेतावनी दिएको भन्ने खबर बाहिरिएपछि अझ धेरैमा अब के होला भन्ने कौतुहलता र त्रास एकसाथ थियो । तर, प्रसाईँ पक्राउपछि उनले भन्ने गरेका जनता देखिएनन् । प्रसाईँ पक्राउको विरोधमा कहिँ कतै प्रदर्शन भयो भन्ने सुनिएन । यसको अर्थ सडक तातिनपथ्र्यो । आन्दोलन हुनैपथ्र्यो भन्ने होइन । प्रसाईँका पक्षमा मान्छे नै रहेनछन् भन्ने मात्रै हो । मान्छे छन् या छैनन् भन्ने कुरा यस्तै समयमा देखिने हो ।
प्रसाईँका घरमा अघिपछि टनाटन देखिने मान्छे कहिँ देखिएनन् । प्रसाईँ पक्राउपछि आफूहरुपनि पक्राउ पर्ने डरले ती कता हराए थाहा भएन । दल नै दर्ता गरेर अब ब्यापक रुपमा अघि बढ्ने हो भनेर प्रसाईँलाई कन्भिन्स गर्नेहरुको संख्या यसअघि उनका घरमा सानो थिएन । गेटदेखि किचन सम्म नै प्रसाईँका वरीपरी मान्छेहरु देखिन्थे । कतिपय भन्छन्, प्रसाईँको पैसाले काम गरुञ्जेल मान्छेहरु देखिएको हो । प्रसाइँसँग पैसा देखेर उनका अघिपछि मान्छेहरु झुम्मिएका पनि हुन् । तर, जब प्रसाईँको खल्ती रित्तिदै गयो तब मान्छेहरुको मन पनि परिवर्तन हुन थाल्यो । ढाडिएपछि जुका झरे जस्तै कतिपयले प्रसाईँको साथ यसरी छाडे कि तीनको नियत प्रसाईँ आफैंले पत्तो पाएनन् । प्रसाईँकै सकृयतामा खुलेको भनिएको दलको उपस्थिती प्रसाइँ पक्राउपछि नदेखिनुले प्रसाईँलाई हौस्याउनुहरु कस्ता रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ । ज्योतिषीदेखि, सन्यासी अनि लघुवित्त पीडितदेखि अन्य पीडितसम्मको लामेलस्कर अहिले देखिदैन ।
युट्युबरका नाममा प्रसाइँलाई हौस्याउँदै अघिपछि लाग्नेहरु पनि अहिले प्रसाई पक्राउपछि खास देखिदैनन् । सायद प्रसाइ रिहा भएपछि दाई तपाइँसँग हामी छौ लौ हेर्नुस् त तपाइँलाई साथ दिने मिडिया भन्दै तीनिहरु पनि प्रसाईँको चाकडीमा लाग्नेछन् । केही युट्युबर र केही फरक नियतका मान्छेहरुले हौस्याउदा हौसियर जे पनि बोल्न पछि नपर्ने प्रसाईँ साँच्चै राजनीतिक अभियानमा नै हुन् भने उनले आफ्ना पछि कस्ता मान्छे रहेछन् भनेर सोच्लान् । अन्यथा आफूले बोलेको कुरा युट्युब र फेसबुकमा कति गयो देख्यौ नि भाई भन्दै युट्युबरहरुका अघि आत्मरति बाहेक उनको अरु केही हुने छैन । कसैले हौस्याउदा हौसिन्छन्, अनेकथोक बोल्छन् अनि फेरि यसैगरी प्रहरीको नियन्त्रणमा पर्छन् ।






