Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

ओलीसँग बयानको तयारीले खैलाबैला


पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले बयान लिन लागेको भन्ने कुराले एमाले वृत्तमा खैलाबैला मच्चिएको छ । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका सुरक्षाकर्मीसँग बयान लिइसकेको आयोगले नीतिगत तहमा रहेका व्यक्तिहरुसँग बयान लिन लागेको भन्ने खबर सार्वजनिक भएसँगै राजनीतिक वृत्त तातिएको छ । गौरीबहादुर कार्की नेतृत्वको आयोगले लिने बयानमा कुनै पनि हालतमा नजाने अडान लिइरहेका ओलीले अब के गर्लान् भन्ने कौतुहलता सर्वसाधारणमा पैदा भएको छ भने ओली बयानका लागि आउँदै आएनन् भने त्यसपछिको विकल्प के भन्नेबारे सरकार समेत सोचमग्न भएको छ ।

हुन त सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले यसअघि नै ओली कानुनभन्दा माथि नरहेको भन्दै बयानका लागि नगए कानुन अनुसार प्रकृया अघि बढ्ने बताइसकेका छन् । तर, ओलीसँग बयानको विषयलाई नै लिएर टसल बढाउँनुभन्दा उनलाई कसरी बयानका लागि सहमत गराउँन सकिएला भन्ने चिन्तनमा सरकार लागेको देखिन्छ । ओलीलाई बयानमा पनि ल्याउन सकिएन भने लाजमर्दो हुने अनि उनी बयानका लागि आउँदै आएनन् भने पक्राउ गरेर लैजादा मुठभेडको दिशामा देश जाने त्रासमा सरकार छ ।
त्यसो त ओली बयानमा जाने मुडमा छैनन् भन्ने कुरा एमालेले शुक्रबार नेसनल भोलिन्टियर फोर्स घोषणा गर्दै गर्दा पनि देखियो । ओली आफैंले म बयानमा जान्नँ भन्ने कुरा यसअघि जस्तो सिधा रुपमा भन्न त भनेनन् तर, आफ्ना प्रिय पात्र महेश बस्नेतको मुखबाट सार्वजनिक गर्न लगाए । बस्नेतले उक्त कार्यक्रममा आफ्ना नेतालाई बयानका नाममा दुःख दिइए ठिक नहुने मात्रै भनेनन् त्यसो गरिए भोलिन्टियर फोर्सका हजारौं हजार कार्यकर्ता सिंहदरबार छिर्ने चेतावनी नै दिए । उनले यस्तो चेतावनी दिनुअघि एमालेले भोलिन्टियर फोर्सका नेता कार्यकर्तालाई बबरमहलबाट मार्चपासमा उतारेको थियो ।
यसअघि नै एमालेको युवा दस्ता युथ फोर्स थियो । तर, युथ फोर्स रहँदारहँदै एमालेले भोलिन्टियर फोर्स किन गठन ग¥यो भन्ने प्रश्न स्वभाविक रुपमा उब्जिएको छ । एमालेका नेताहरुले जनताका जिउधनको सुरक्षाका लागि यो फोर्स गठन गरेको बताएपनि यसलाई मान्छेहरुले त्यसरी पत्याएका छैनन् । पार्टी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ गर्न बनेको आयोगले बयानका लागि बोलाउँने तयारी गरेपछि हामीसँग विभिन्न प्रकारका दस्ता छन् भन्न र सरकारलाई डर देखाउँन यो फोर्स बनाइएको धेरैको बुझाई छ ।
जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ गर्न बनेको आयोगले ३ महिनाको समय पाएकोमा अब आयोगसँग धेरै दिन बाँकी छैन । अन्य सबैसँग बयान लिइसकेपछि उनीहरुको बयानका आधारमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र ओली सरकारका गृहमन्त्री रमेश लेखकसँग बयान लिने आयोगको योजना थियो । सोही योजना अनुसार अब ओली र लेखक बयानको सूचीमा छन् । तर, ओली भने बयान दिन नजाने रणनीतिमा छन् । सोही रणनीति अनुसार उनी आफैंले सडक प्रदर्शनका लागि युवाहरुको नयाँ दस्ता बनाउन लगाएको बुझिएको छ । बनाइएको नयाँ दस्ता जसले ओलीलाई जबरजस्ती बयानमा बोलाइए र ओलीलाई पक्राउ नै गरेर लान खोजिए प्रतिकार गर्नेगरी तयारी गरेको कतिपयको बुझाई छ । त्यसो त भोलिन्टयर फोर्स घोषणा सभामा नै महेश बस्नेतले प्रतिकारको चेतावनी दिइसकेका छन् । आफ्ना नेतालाई बयानमा बोलाइए फोर्सका हजारौं हजार कार्यकर्ता सिंहदबार छिर्ने उनको चेतावनी छ । यस्तो अवस्थामा अब के होला ? यतिबेला यो विषयले धेरैका मनमा अनेकन कौतुहलता पैदा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार